स्वास्थ्यमन्त्री पौडेलको सयदिने उपलब्धी, पीडित परिवारको निःशुल्क बिमादेखि जलनको उपचारसम्म

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफ्नो कार्यकालका एक सय दिने उपलब्धी सार्वजनिक गरेका छन् । विसंं. २०८१ असार १३ गतेदेखि स्वास्थ्यमन्त्रीको कार्यभार सम्हालेका उनले बिहीबार पत्रकार सम्मेलनमार्फत आफ्नो कार्यप्रगति विवरण सार्वजनिक गरेका हुन् । १५ बुँदामा प्रस्तुत गरिएको कार्यप्रगतिमा अधिकांश नीतिगत र केही भौतिक परिवर्तनका बुँदा समेटिएको छ । तत्कालीन सेवा सुधारमा बढी ध्यान दिँदै पहिलोपटक विषयगत समितिको बैठक बसी कर्मचारी समायोजनमा रहेको अलमल समाधान गरिएको पहिलो बुँदामा उलेख छ । यसमा फाजिलका कर्मचारी व्यवस्थापन, स्थानीय तहमा रहेका विशेषज्ञ चिकित्सकलाई प्रादेशिक अस्पतालमा काजमा खटाइएको उल्लेख छ । यस्तै हैजा, डेंगीलगायत महामारीजन्य रोग नियन्त्रणका निम्ति तीनवटै तहमा प्रतिकार्य टोली सक्रिय बनाइएको र खण्डिकृत सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्न सहकार्य र समन्वय गरिएको उल्लेख छ । दोस्रो बुँदामा रहेको जनस्वास्थ्य समितिको क्रियाशिलताअन्तरगत राष्ट्रिय जनस्वास्थ्य समितिको दोस्रो बैठक बसेको र जनस्वास्थ्यका प्राथमिकता निर्धारण गर्न आठवटा उपसमिति गठन गरेको उल्लेख छ । स्वास्थ्य जनशक्ति उत्पादन तथा सीप र दक्षताको उपयोग गर्ने प्रयासअन्तरगत नेपाल हेल्थ कन्क्लेभ २०२४ आयोजनाको तयारी गरिएको छ । स्वास्थ्य जनशक्तिको आगामी कार्यदिशा निर्धारण गर्न विज्ञ एवम् सरोकारवाला सम्मिलित कार्यदल गठन गरी प्रक्रिया अघि बढाएको उल्लेख छ । मन्त्री पौडेलका अनुसार सोही बुँदाअन्तरगत चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनका निम्ति एनएमएको कार्यदलबाट प्राप्त सुझावका आधारमा काम अघि बढाइएको छ । निरोगी पुस्ता अभियानअन्तरगत नवजात शिशुको मुटुको न्युबर्न स्क्रिनिङ सेवा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट सुरु गरिएको उल्लेख छ । यही वर्षदेखि स्क्रिनिङ सञ्चालनमा १० देखि १४ वर्षका सबै किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिइने कार्ययोजना तयार पारिएको उल्लेख छ ।

उपचारात्मक सेवाअन्तरगत भक्तपुर र भरतपुर क्यान्सर अस्पतालमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गर्ने व्यवस्था मिलाइएको उल्लेख छ । हरेक प्रदेशमा एउटा मुटुरोग अस्पताल रहनेगरी मधेस र गण्डकी प्रदेशबाट सेवा सुरु गरिएको, सबै संघीय अस्पतालमा दुई सिफुट ओपीडी सुरु गरिएको उल्लेख छ । अत्याधुनिक सुविधासम्पन्न न्युरो उपचार केन्द्र स्थापनका निम्ति सम्भाव्यताको थालनी गरिएको पनि उपलब्धीमा समेटिएको छ । चिकित्सा शिक्षातर्फ राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ५०,५० सिटमा एमबीबीएस अध्यापन सुरु गरिएको उनले बताए । जलनको निःशुल्क उपचार अन्तरगत निःशुल्क गर्न सातै प्रदेशबाट कस्मेटिक बाहेकका जलनको उपचार सेवा सुरु गरेको उपलब्धी विवरणमा उल्लेख छ । जनस्वास्थ्यका समसामयिक समस्याको सम्बोधन गर्न तीन तहका सरकारबीच समन्वय गरी बैठक, तालिमलगायत काम चुस्त बनाइएको पनि उपलब्धी विवरणमा उल्लेख छ । गत असोज ११ र १२ गतेको बाढी पहिरोमा परी घाइते भएका तथा मृतकका परिवारका सदस्यको निःशुल्क स्वास्थ्य बिमा गर्ने व्यवथा गरिएको मन्त्री पौडेलले बताए । देशभरका ५२ हजार सामुदायिक स्वास्थ्य स्वंयसेविका लाभान्वित हुनेगरी सम्बन्धित जिल्लाभित्र सार्वजनिक सवारीमा भाडा नलाग्ने व्यवस्था गरिएको पनि विवरणमा उल्लेख छ । यो नियम कात्तिक १५ गतेदखि लागु हुनेछ । राष्ट्रिय खेलाडीको सम्मानस्वरुप अन्तर्राष्ट्रियस्तरमा खेल्ने खेलाडीलाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा वार्षिक स्वास्थ्य परीक्षण निःशुल्क गरिएको पनि उनले बताए । स्वास्थ्य बिमा पुनसंरचनाका लागि उच्चस्तरीय कार्यदल गठन भइ काम अघि बढाइएको मन्त्री पौडेलले जानकारी दिए ।

औषधि ऐन प्रतिस्थापन विद्येयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्था सुरक्षा ऐन, सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन शंसोधन प्रक्रिया अघि बढाइएको पनि उनले बताए । संघीय अस्पतालहरूको बिग्रिएका उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिइएको र हालसम्म चार सयभन्दा बढी सामग्रीको मर्मत भइसकेको मन्त्री पौडेलले बताए । सिंहदरबार बैद्यखानाबाट ४० किसिमका औषधि उत्पादन तयारी अघि बढाइएको उपलब्धी विवरणमा उल्लेख छ । औषधिको मूल्य नीति सुझाव समिति गठन गरी स्वतःस्फूर्त मूल्य कायम गर्नेगरी काम अघि बढाइएको पनि उनले जानकारी दिए । विकास साझेदारहरूबाट आर्थिक सहयोग भित्र्याउने सन्दर्भमा सामथ्र्य परियोजनाअन्तरगत बेलायत सरकारबाट २०२४ देखि २०३० सम्म १२ मिलियन पाउण्ड सहयोग पाउनेगरी हस्ताक्षर भएको विवरणमा उल्लेख छ । २०२४ देखि २०२९ सम्म अमेरिकी सरकारबाट एकीकृत पोषण कार्यक्रमका निम्ति ७२ मिलियन अमेरिकी डलर दिने सम्झौता भई कार्यक्रम सुरु भएको पनि मन्त्री पौडेले बताए । स्वास्थ्य क्षेत्रमा एक सय दिनको अवधिमा भएका कामहरूले केही सुधारका संकेत दिएको र आगामी दिनमा नागरिकले महसुुस गर्नेगरी सुधारका काम अघि बढाउने मन्त्री पोडेलले प्रतिवद्धता जनाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *