विद्युत महसुल भुक्तानीमा उद्यमीहरू तयार, विवाद वार्ताद्वारा समाधान गरौं : उद्योग वाणिज्य महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेटेड फिडर र ट्रंकलाइन विवाद वार्ताद्वारा समाधान गर्न आग्रह गरेको छ । महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको छ । विवादका कारण बारम्बार उद्योगहरूको बिजुलीको लाइन काटिँदा उत्पादन प्रभावित हुनुका साथै लगानीको वातावरणमा प्रतिकूल असर परी गलत सन्देश जाने महासंघको भनाइ छ । विवाद समाधानका लागि लाइन नकाट्ने र हाल काटिएको बिजुली तत्कालै जडान गरी वार्ताद्वारा सबैपक्ष बसेर समाधान खोज्नु आवश्यक रहेको महासंघको ठहर छ । विभिन्न समयमा विभिन्न प्रत्रियाबाट बिजुली उपलब्ध गराइएको र उपभोग भए,नभएको विषयमा उद्यमी व्यवसायी र नेपाल विधुत प्राधिकरणबीच मतभिन्नता रहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार बिजुली उपभोगको प्रमाणको आधारमा अतिरिक्त विद्युत महसुल भुक्तानी गर्न उद्यमीहरू तयार रहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा डेडिकेटेड फिडर र ट्रंकलाइन विवाद सधैंको लागि अन्त गर्न सर्वाच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग गठन भएको थियो । तर उक्त आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन । लाल आयोगको प्रतिवेदनको पृष्ठभूमिमा वार्ताको माध्यमबाट लामो समयदेखिको डेडिकेटेड फिडर र ट्रंकलाइनसम्बन्धि समस्या समाधानको लागि नेपाल विद्युत प्राधिकरणको सक्रिय भूमिकाको आवश्यक भएको महासंघको भनाइ छ । नेपाल विद्युत प्राधिकरणले बिहीबार साँझबाट विभिन्न उद्योगहरूको लाइन काट्न थालेको थियो । सोही कारण नेपाल उद्योग वाणिज्य महासंघले विज्ञप्ति जारी गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *