बक्यौता नउठाई हस्तक्षेप गरे डटेर विरोध गर्ने विद्युत् प्राधिकरणका कर्मचारी संगठनको चेतावनी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कर्मचारी युनियनले बक्यौता नउठाएर हस्तक्षेप गरे आफूहरूलाई सह्य नहुने चेतावनी दिएका छन् । उद्योगी तथा व्यवसायीले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम नतिरेसम्म लाइन जोड्न नहुने उनीहरूको माग छ । आइतबार एक विज्ञप्तिमार्फत प्राधिकरण सम्बद्ध कर्मचारी युनियनले सामान्य ग्राहकको हकमा महसुल नतिरे ६० दिनमा लाइन काट्ने गरेको तर केही ग्राहकले महसुल नतिरेर ऐन, नियम र कानुनबाहेकका अनेक बहानाबाजी र प्राधिकरणको मानमर्दन गरेर थप विवाद सिर्जना गरेको बताएका छन् ।

प्राधिकरणमा क्रियाशील नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन र प्राधिकरण कर्मचारी कल्याण परिषद्ले प्राधिकरणलाई विखण्डन गर्ने सरकारी नीतिबाहेक अन्य हस्तक्षेप तथा संस्थालाई हानी नोक्सानी हुने राजनीतिक अभ्यासको डटेर विरोध गर्ने जनाएका छन् । देशमा चरम विद्युत् अभाव भएर आमजनता अन्धकारमा रहेका बेला केही ग्राहकले प्राधिकरणबाट डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत विद्युत् सप्लाई लिएको र सप्लाई लिएबापत विद्युत् महसुलमा लाग्ने अतिरिक्त शुल्क तिर्न विवाद गरेको उनीहरूको भनाइ छ । उद्योगीले बक्यौता रकम नबुझाएसम्म बिजुली लाइन नजोड्न र नियमानुसार असुलउपर गर्न उनीहरूको आग्रह छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *