अनमोलको ‘जेरी अन टप’को छायांकन शुरु

काठमाडौं । अनमोल केसी, केदार घिमिरे ‘माग्ने बूढा’, आँचल शर्मा, जसिता गुरुङसहितका कलाकारले सोमबारदेखि फिल्म ‘जेरी अन टप’को छायांकन थालेका छन् । ललितपुरको बंगलामुखी मन्दिरमा पूजाआजा गर्दै यो रोमान्टिक फिल्मको छायांकन थालियो । त्यसअघि ‘कास्ट एड क्रू’ले मन्दिरमा पूजाआजा गर्दै प्रोजेक्ट सफलताको कामना गरे । हलमा ‘छक्कापञ्जा ५’ चलिरहँदा माग्ने बूढा भने नयाँ फिल्मको तयारीमा जुटेका हुन् । उनले अनमोलको पछिल्लो फिल्मको प्रशंसा गर्दै सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । ‘फर्की फर्की हेर्दा मलाई कता कता पर्दामा म पनि भएको भए जस्तो हुन्थ्यो,’ केदारले उक्त अवसरमा भने । अनमोलले पनि माग्ने बूढासँग सहकार्य गर्न पाउँदा प्रसन्नता व्यक्त गरे । माग्ने बूढाको ऊर्जाबाट आफू प्रभावित भएको उनले बताए । ‘केदार दाइसँग पहिले पनि मेरो भेट त भएको थियो कार्यक्रममा । यसपटक जेरीको दौरानमा मैले अझ बढी कुरा सेयर गर्ने मौका पाएँ,’ अनमोलले भने, ‘उहाँ यो उमेरमा पनि बिहानै उठेर जसरी स्क्रिप्टमा लाग्नुहुन्छ, उहाँको इनर्जीबाट प्रभावित छु ।

निर्देशक सुयोग गुरुङले दुई पुस्ताका कलाकारलाई एउटै पर्दामा देख्न पाउनु महत्वपूर्ण क्षण भएको बताए । ‘हामीले पछिल्लोपटक नयाँ कलाकार कास्ट गरेका छौं । केदार र विपनाजी जोडिनुभएको छ । हाम्रो लागि यो फाइदाको कुरा हो , ‘दर्शकलाई मनोरञ्जन दिन यो भन्दा अर्को उपाय छैन । यो फिल्ममा भुवन केसी र विपना थापा पनि कलाकारको रुपमा छन् । १८ वर्षपछि यी दुई कलाकारले स्क्रिन सेयर गर्न लागेका हुन् । भुवनको भने तीन वर्षपछि अभिनयमा पुनरागमन हो । आँचल र जसिताले पनि को–स्टारहरुको प्रशंसा गर्दै चरित्र चित्रणमा मेहनत गर्ने बताए । अनन्या फिल्म्स र भण्डारी मल्टिट्रेडको ब्यानरमा निर्माण हुने फिल्मलाई सरोज न्यौपानेले निर्माण गर्न लागेका हुन् । यसअघि निर्माण भएको अनमोलकै फिल्म ‘जेरी’सँग यसको सम्बन्ध नरहेको बताइएको छ । ५० दिनको छायांकन तालिका राखिएको फिल्मलाई काठमाडौं, लुक्ला र भारतको लद्दाखमा छायांकन गरिने जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *