वुमेन्स साफ च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशलाई

काठमाण्डौं । बंगलादेशले नेपाललाई पराजित गर्दै बुधबार वुमेन्स साफ च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा भएको खेल २–१ ले जित्दै बंगलादेशले उपाधि रक्षा गरेको हो । नेपाल अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा पराजित भएको यो १२ औं पल्ट हो । हारसँगै नेपालको पहिलोपल्ट उपाधि जित्ने सपना अधूरै रह्यो । बंगलादेशले सन् २०२२ को उपाधि दशरथ रंगशालामै जितेको थियो । त्यति बेला पनि बंगलादेशले उपाधिको भिडन्तमा नेपाललाई नै हराएको थियो । नेपालले साफ च्याम्पियनसिपको फाइनलमै पराजित भएको यो छैटौं पल्ट हो । रितुले नेपाली पोस्टको ठीक बाहिरबाट गरेको उत्कृष्ट प्रहार सुन्दर गोलमा परिणत भएको थियो । पूरा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी रितुले त्यस्तै खेल फाइनलमा पनि दोहोर्‍याइन् । पहिलो हाफको गोलरहित बराबरीपछि खेलले गति लिएको थियो ।

खेलको पहिलो गोल बंगलादेशले निकालेको थियो । नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाउँदै ५२ औं मिनेटमा मोनिका चक्माले गोल गरिन् । नेपालले ५६ औं मिनेटमा बराबरी गोल फर्कायो । प्रिति राईको थ्रु पासमा अमिशाले बंगलादेशी गोलरक्षकलाई कुनै अवसर नदिई गोल गरिन् । पहिलो हाफमा बंगलादेशले सुरुमै मौका पाएको थियो । नेपाली डिफेन्डर गीता राना चिप्लिएको स्थितिमा सिर्जना भएको अवसरमा सविता खातुनको पोस्टमा लागेको थियो । खेलको दसौं मिनेटमा नेपाल त्यस्तै स्थितिबाट गुज्रियो । सावित्रा भण्डारीको पासलाई नियन्त्रण लिएर अमिशाले गरेको प्रहार पोस्टमा ठोकिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *