प्रहरीद्वारा चाडपर्व लक्षित विशेष निगरानी
काठमाण्डौं । गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन गरेको छ । सुरक्षा समितिले आवश्यक निर्णय गरी शान्ति सुव्यवस्थाको काम अघि बढाएका छन् । नेपाल प्रहरीले तिहार तथा छठ पर्व लक्षित विशेष निगरानी पनि बढाइसकेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले तिहार तथा छठ पर्व लक्षित विशेष निगरानी बताए । आगलागी, नाचगान, देउसीभैलो र जुवातासका कारण हुने हारजित र झैझगडा, मदिरा खाएर रातीमा होहल्ला गरेर समाजलाई नै प्रभावित पार्ने तथा आपराधिक घटना हुनसक्नेतर्फ मध्यनजर गरी सुरक्षामा उच्च निगरानी गरिएको उनले बताए । देशैभरका जिल्लाका सुरक्षा समतिको बैठक बसेर जिल्लाको शान्तिसुरक्षाको अवस्थालाई मध्यनजर गर्दै देउसी भैलोको समय तोक्ने, हूल हुज्जत गर्ने समूहको निगरानी गर्ने, मादक पदार्थ खाएर सवारीमा हिँड्ने हुनाले सडक जाँचलाई थप सदृढ पारिएको प्रहरीले जनाएको छ । प्रवक्ता कार्कीले भने, पटाका र पटाकाजन्य पदार्थ विस्फोटक पदार्थका रुपमा रहेकाले कसैले पड्कायो हामी पनि पड्काउँ न त भन्ने हुनसक्छ, यो गतिविधि विस्फोटक पदार्थसम्बन्धी कसुरमा कारबाही हुन्छ । ओसारपसार भण्डारण बिक्री वितरण र प्रयोग सबैमा प्रतिबन्ध छ । तीन महिनादेखि १ वर्षसम्मको कैद सजायसम्म हुनसक्छ, क्षतिको क्षतिपूर्ति पनि भराइन्छ, त्यसैले यसमा भुलेर पनि कोही संलग्न हुनुहुँदैन । अर्को सामाजिक सञ्जालमा उच्छृङ्खल कुराहरु राख्ने विषयमा पनि प्रहरीले अनुगमन बढाएको छ । उनले भने, प्रहरीलाई के थाहा हुन्छ र भन्ने उद्देश्यले विगतमा गरेको पाइयो । फौजदारी कसुर हुने भएकाले समयमै ध्यान दिनु हुन अनुरोध छ । हामी तपाईंहरुको तिहार शान्तिपूर्ण होस् भनेर खटिएका छौँ, शान्तिपूर्ण रुपमा तिहार मनाउन अनुरोध गर्छु । उनका अनुसार तिहारमा प्राविधिक रुपमा निगरानी बढाइएको छ । भिडियो, साामाजिक सञ्जला, सिसिटिभीसहित सादा पोशाकमा प्रहरी परिचालन गरेर सुरक्षा निगरानी गरिरहको पनि प्रहरीले जनाएको छ । सवारी चालकको अवस्था हेर्ने र कारबाही भइरहेको छ । दसैँअघि नै सुरक्षा योजना सार्वजनिक गरिएको थियो । त्यही कार्यान्वयनमा रहेको छ । यसअघि नै सामाजिक सञ्जालबाट पनि सार्वजनिक आह्वान गरिएको छ । यसपालि तिहारमा ४८ हजारको हाराहारीमा प्रहरी परिचालन गरिएको बताउँदै प्रवक्ता कार्कीले कोही प्रहरीलाई बिदामा नपठाइने बताए । किरिया, बिरामीलगायत अत्यावश्यक काममा बिदामा पठाइन्छ, सामान्य अवस्थामा कोही प्रहरी बिदामा बस्दैनन्, सबै तिहार सुरक्षामा हुन्छन्, यो स्पष्ट निर्देशन नै छ । यसपालि दसैँमा भन्दा केही यातायात सहज रहेको तर कच्ची सडक, निर्माणाधीन सडक भएकाले जोखिम रहेको छ । ती सडकहरुमा समेत निगरानी बढाइएको र सुरक्षा टोली नै परिचालन गरेर यातायात सहज पारिने जनाइएको छ । जथाभावी लापरबाहीपूर्ण तरिकाले, नशाको तालमा गाडी चलाउने अवस्थालाई पूर्णरुपमा निस्तेज पार्न सूक्ष्म निगरानी पनि भइरहेको छ । जुवा र जुवाजन्य गतिविधिमा कडा निगरानी गरिएको छ । गैरकानुनी गतिविधि गरेर हिरासतमा पुग्दा र अपराध मुद्दा लागेर तिहार नै नमिठो हुने हो की, कानुनी कारबाहीमा परिने हो कि, यसतर्फ ध्यान दिन कार्कीले अनुरोध गरेका छन् । बढी भाडा लिने अवस्थाको अन्त्य गर्न पनि निगरानी गरिएको र त्यस्ता गतिविधि भए तत्काल प्रहरीमा खबर गर्न अनुरोध पनि गरिएको छ । सोही अनुसार ट्राफिक प्रहरी समेत परिचालित भएका छन् ।
उपत्यका सुरक्षामा उच्च निगरानी
काठमाडौँ उपत्यका प्रहरीले उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का लागि एकीकृत रुपमा सुरक्षा योजना लागू गरी निगरानी बढाइएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले यसपाली दसैँ अघि लागू गरिएको चाडपर्व लक्षित सुरक्षा योजना लाभदायी देखिएको बताए । उनले भने, आपराधिक घटना र दुर्घटनाबाट हुने क्षति कम भएको छ । तिहारमा पनि सोही अनुसारको सुरक्षा निगरानी गरिएको छ । संयुक्त सुरक्षा योजना लागू गरिएको छ । विस्फोटक पदार्थ भित्रिन नदिन उपत्यका भित्रिने नाकामा जाँचमा कडाइ, देउसीभैलोमा निगरानी स्थानीय प्रशासनसँग समन्वय गरेर ठाउँ जोखिम हेरेर सुरक्षाकर्मी परिचालन भएका छन् । जुवातास, अवैध मदिरा उत्पादन बिक्री रोक्न प्रहरी पूर्ण रुपमा परिचालन गरिएको छ । केही अघि मात्रै पटाका भित्र्याउने दुई जनालाई मुद्दा चलाइएको र उनीहरुबाट तीन बोरा पटाका बरामद गरिएको घिमिरेले बताए । उपत्यकामा ५ हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालित रहेको र आवश्यकता अनुसार रिजर्भ फोर्स तयार गरेर राखिएको पनि उनले बताए ।