भिमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं साधारण सभा
दोलखाको तामाकोशी गाउँपालिका १ भिरकोटमा रहेको भिमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको २६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले सदस्यहरुको सहजताको लागि एकाईगत रुपमा साधारण सभाको आयोजना गरी गत शुक्रबार निर्णण प्रमाणिकरण सभाको आयोजना गरेको हो । साधारणसभा संस्थाका अध्यक्ष सिताराम उप्रेतीको अध्यक्षता तथा तामाकोशी गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साधारणसभामा संस्थाका अध्यक्ष सिताराम उप्रेतीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २०५२ सालमा २५ रुपैयाँ बचतबाट सुरु गरिएको संस्थाको कुल सम्पत्ति ४६ करोड ६० लाख ७० हजार पुगेको बताए ।
संस्थाले गत आर्थिक बर्षके असार मसान्तसम्म संस्थाको शेयर पुँजी ३ करोड ३७ लाख ७१ हजार पुगेको भने, जगेडा तथा अन्य कोषतर्फ ४ करोड १२ लाख रहेको छ । बचत संकलन ३६ करोड ३० लाख २५ हजार गरी सोही मात्रामा सदस्यहरु माझ ऋण लगानी गरेको छ । संस्थाले संचालन गरेको धाना उद्योगबाट २८ लाख २२ हजार आम्दानी गरेको संस्थाका प्रमुख व्यवस्थापक उदय कटुवालले सभामा जानकारी दिए । संस्थाले २६औँ वार्षिक साधारण सभाको अवसरमा असल ऋणी,नियमित बचतकर्ता,एसईई उत्कृष्ट विद्यार्थी,संस्थाका कर्मचारी,संस्थापक संचालक लगायत विभिन्न विधामा आफ्ना सदस्यहरुलाई नगदसहित सम्मान गरेको थियो । अक्षयकोष मार्फतको रकमवाट जेहेन्दार सदस्य र विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो। संस्थाले विशेष गरी कृषि,व्यापार,पशुपालन,व्यवसाय सञ्चालन,जग्गा खरिद,वैदेशिक रोजगार लगायतका क्षेत्रमा ऋण लगानी गर्दै आएको छ। संस्थामा हाल ६ हजार ९ सय पाँच जना शेयर सदस्य र २ हजार ६ सय ७३ जना बाल बचत कर्ता आबद्ध रहेका छन्।