जनतामा भरोसा जगाउन शासन प्रणाली पारदर्शी, जवाफदेही र सुशासन पहिलो सर्त – राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनतामा भरोसा जगाउन शासन प्रणाली पारदर्शी, जवाफदेही र सुशासन पहिलो सर्त भएको बताएका छन् । 

बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित महेन्द्रनारायण निधिको संघर्षमय जीवनीमा आधारित ‘नेपालका निधि’ नामक पुस्तक लोकार्पण गर्दै राष्ट्रपति पौडेलले समाजमा पछि परेका वर्गको हित र आम नागरिकको जीवनस्तर सुधार गरेर संघीय लोकतान्त्रिक व्यवस्थामा मात्रै भविश्य सुरक्षित छ भन्ने जनतामा भरोसा जागृत गराउनुपर्ने बताएका हुन् ।

राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको यो लक्ष्य पूरा गर्न न्यायपूर्ण, समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सबै जुट्नुपर्ने बताए । राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधिका बहुआयामिक व्यक्तित्व, नेपालमा लोकतन्त्र स्थापना र पुन:स्थापना तथा सामाजिक, सांस्कृतिक जागरणबारे जान्न र बुझ्न चाहनेका लागि पनि पुस्तक उपयोगी हुने बताए ।

राष्ट्रपति पौडेलले बीपी कोइराला र समाजवादी नेता डा. राममनोहर लोहियाका चिन्तनबाट प्रभावित भएका महेन्द्रनारायण निधि नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी व्यक्ति भएको बताए । उनले देशको राजनीति, आर्थिक र सामाजिक परिवर्तनका लागि निधिले आफ्नो जीवन समर्पित गरेको स्मरण गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *