ज्योति मिर्मिरे सामुहिक साकोसको २५ औं बार्षिक साधारण सभा सम्पन्न, सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति
काठमाण्डौं । ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले मंसिर १ गतेदेखि क्षेत्रगत रुपमा साधारण सभाको आयोजना गरी समापन गरेको हो । साधारण सभाले उद्धवप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । साधारण सभाले आगामी चार वर्षका लागि सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरेको हो । नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा कान्छीमैया थापा कार्की, सचिव बुद्धसिंह थापा, कोषाध्यक्ष पूर्णराम तुलाधर निर्विरोध भएका छन् । महिला सदस्यहरुमा शोभा हाडा, पवित्रा सापकोटा, मनिला केसी निर्विरोध भएका छन् । संचालकहरुमा भुगोलतर्फ शिवराज श्रेष्ठ पाँचखाल, सरिता गिरी धुलिखेल, सविता बज्राचार्य बनेपा, लोकेन्द्रकुमार सापकोटा पनौती, भिमप्रसाद बञ्जारा पनौती, उमा थापा पनौती, सुर्यकुमारी तामाङ पनौती, रामप्रसाद तिमल्सिना बेथान्चोक रहेका छन् । त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा भिमसेन केसी र सदस्यहरुमा कुमार बस्नेत र राजुप्रसाद तिमल्सिना सदस्य रहेका छन् । नब निर्वाचित अध्यक्ष सापकोटाले सहकारीलाई समुदायमा आधारित, सदस्य केन्द्रीत र सुशासनमा सञ्चालन गर्ने प्रतिवद्धता जनाए । मुलुककै नमुना संस्था बनाउने उदेश्यका साथ आफुहरु लागेको भन्दै उनले दिगो उत्कृष्ट वित्तीय सहकारी बनाउने लक्ष्य लिएको जनाए ।
संस्थाले ५ बर्षे रणनीतिक योजना बनाएको र त्यस अवधिमा ३५ हजार सदस्य र ६७ करोड माथीको कुल सम्पत्ति पुन्याउने लक्ष्य लिएको उनले जनाकारी दिए । संस्थाले बचत ऋणको मात्र कारोबार नगरी सामाजिक कार्य पनि गर्दै आएको र सदस्यहरुको ऋण बीमा गरेको जानकारी दिदै उनले गत बर्ष ९८ लाख ऋण बापतको रकम सदस्यलाई उपलब्ध गराएको उनले जनाए । सदस्यहरुलाई गर्वदेखि स्वर्गसम्म सहयोग गर्दै आएको र सदस्यको मृत्यु हुँदा १ लाख ५ हजारसम्म आर्थिक सहयोग गर्ने गरेको सापकोटाको भनाई छ । सदस्यलाई उद्यमशीलतामा जोड्ने र आर्थिक रुपमा समृद्धि बनाउने काम पनि संस्था अगाडि रहेको उनले बताए । सहकारीको मूल्य मान्यता र सिद्धान्तमा रहेर सदस्यहरुलाई बढी भन्दा बढी सेवा प्रदान गर्ने त्यस भन्दा बाहिर गएर संस्था सञ्चालन नगर्ने उनको प्रतिवद्धता छ । सदस्यको हितलाई पहिलो प्राथमिकता दिएर नयाँ सञ्चालक समितिले काम गर्ने उनले जनाए । संस्थामा १८ हजार ३ सय २६ सदस्य रहेका छन् । जस मध्ये ९ हजार १ सय ९९ पुरुष, ९ हजार १ सय ३ महिला, ३५ संस्थागत रहेका छन् । संस्थामा १ हजार ७ सय २५ जना बाल बचतकर्ता छन् । संस्थाको १२ करोड ३१ लाख ८ हजार ७ सय रुपैयाँ शेयर पुँजी, ९५ करोड १० लाख ६० हजार १ सय ७८ बचत, ९२ करोड ६२ लाख ६१ हजार १ सय ४१ रुपैयाँ ऋण लगानी रहेको छ । सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले उमेर, समुह र भुगोलका साथै महिलालाई समेत समेटेर नयााँ सञ्चालक समिति चयन भएको बताए । संस्थाप्रति सदस्यको आकर्षण बढेर गएको भन्दै उनले अवसरसँगै चुनौती पनि रहेकाले सबै पक्ष मिलेर अगाडि बढ्न आवश्यक रहेको जनाए । ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था र युवा स्वालम्बन वहुउद्धेश्यीय सहकारी संस्थाबीच एकीकरण भएको छ ।