मितेरी डेभलपमेन्ट बैंकको सीईओमा चापागाईं
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनन्त चापागाईं नियुक्त भएका छन् । मंसिर १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओको पदमा चापागाईंलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई माघ १ गतेबाट लागु हुने गरी आगामी ४ वर्षका लागि सीईओको जिम्मेवारी दिइएको कम्पनीका वरिष्ठ प्रवन्धक विशाल श्रेष्ठले जानकारी दिए ।
यसअघि बैंकका सीईओ रहेका तुलसीप्रसाद वस्तीको कार्यकाल सकिएपछि चापागाईं सीईओ पदमा नियुक्त भएका हुन् । नबिल बैंकबाट करिअर सुरु गरेका चापागाईंसँग ३३ वर्षको बैंकिङ अनुभव छ । हाल उनी प्राइम कमर्शियल बैंकका कार्यवाहक उपमहाप्रबन्धक हुन् ।