कीर्तिपुरमा ६ वडाको मतगणना सकिँदा कांग्रेसको निरन्तर अग्रता
काठमाडौं । कीर्तिपुर नगरपालिकामा ६ वटा वडाको मतगणना सकिएको छ । आइतबार भएको उपनिर्वाचनको जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका कृष्णमान डंगोलले तीन हजार ३८५ मत प्राप्त गरेका छन् । उनी नेकपा (एमाले)का उमेदवार सुरेन्द्र मानन्धरभन्दा ६५९ मतान्तरले अगाडि छन् ।
मानन्धरले दुई हजार ७२६ मत ल्याएका छन् । नेकपा (माओवादी केन्द्र)का उमेदवार शिवशरण महर्जनले दुई हजार ३१७ मत पाएका छन् । स्वतन्त्र उमेदवार राजमान महर्जन एक हजार २०७ मत ल्याएर चौथो स्थानमा छन् । त्यस्तै, अर्का स्वतन्त्र उमेदवार दिनेश अधिकारीले ९७५ र कविकुमार महर्जनले ७९४ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कीर्तिपुरको वडा नम्बर १ र ४ को अध्यक्ष पदमा कांग्रेसका उमेदवारहरू निर्वाचित भएका छन् ।