अपांगता भएका व्यक्तिप्रति सामाजिक दृष्टिकोण बदल्नुपर्छ : मुख्यमन्त्री कँडेल
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अपांगता भएका व्यक्तिप्रति राखिने सामाजिक हेयको दृष्टिकोण पूर्णरुपले बदल्नुपर्ने बताएका छन् ।
‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपांगता भएको व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार’ भन्ने नारासहित अपांगता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा मुख्यमन्त्री कँडेलले उनीहरूको हक, अधिकार सुनिश्चितताका लागि सामाजिक सचेतना निर्माण गर्नुपर्ने बताएका हुन् ।
आज एक शुभकामना सन्देश जारी गर्दै उनले भने “संविधानले अपांगता भएका व्यक्तिलाई अन्य नागरिक सरह राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका सम्पूर्ण अधिकार सुनिश्चित गरेको छ । यसमा उनीहरूको अन्तरनिहित क्षमता, सीप र दक्षतालाई प्रदेशको विकास र समृद्धिको अभियानमा परिचालन गर्न आवश्यक छ । जसमा तीनै तहका सरकारबीच समन्वय गरी आवश्यक नीति, योजना र कार्यक्रममार्फत विकासको मूल प्रवाहमा अपांगता भएका व्यक्तिलाई समेट्नुपर्छ ।”