ट्रम्पको चेतावनी- हमासले बन्दी रिहा नगरे मध्यपूर्वले विनाशकारी परिस्थिति सामना गर्नुपर्छ
काठमाडौँ । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले हमास द्वारा गाजामा बन्धक बनाइएकाहरूलाई रिहा नगरे मध्यपूर्वले विनाशकारी परिस्थितिको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल मार्फत् जनवरी २० मा आफूले कार्यकाल सम्हाल्नु अघि बन्धक रिहा गर्न हमास र मध्यपूर्वका लागि यस्तो चेतावनी दिएका हुन् । बन्धक रिहा गर्न भन्दै ट्रम्पले मानवता विरुद्ध अत्याचार गर्ने जो कोही माथि कडा कारबाही गर्ने बताए । जुनसुकै समूहले बन्धक बनाए पनि उसले अमेरिकी इतिहासको अहिलेसम्मकै ठूलो सजायको सामना गर्नुपर्ने ट्रम्पले उल्लेख गरेका छन् ।
सन् २०२३ अक्टोबरमा अप्रत्याशित रूपमा हमासले इजरायल तर्फ आक्रमण गरेर करिब दुई सय ५० जनालाई बन्धक बनाएर गाजा लगेको थियो । तीमध्ये केही मानिस अमेरिकी नागरिक समेत छन् । दुई सय ५० मध्ये एक सय एक जना अझै हमासको नियन्त्रणमा रहेका छन् । एक सय एक मध्ये आधाको ज्यान गइसकेको अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
हमासले भने युद्धविराम नभए सम्म बन्धक रिहा नहुने अडान राख्दै आएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासलाई पूर्ण रूपमा ध्वस्त नपारे सम्म युद्धविराम नहुने बताएका छन् ।