लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध आज बुधबार पक्राउ पुर्जी जारी भएको प्रहरी उच्च स्रोतले जानकारी दियो । यो सहकारीका पूर्वसंञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालिन वीरगन्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो । सहकारीले ऐन विपरीत सदस्य समेत नरहेका वीरगन्ज बाहिरका व्यक्तिलाई ऋण दिएर रकम अपचलन गरेको आरोप छ । बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरेर अपचलन गरेको आरोप छ । यो सहकारीबाट जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेशनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड एक लाख कर्जा प्रवाह गरिएको छ । त्यस्तै विशाल तामाङको नाममा ६ करोड ८३ लाख, छविलाल जोशीको नाममा १ करोड ८६ लाख, तिर्थराज लामिछानेको नाममा १ करोड ६ लाख, विमला पौडेलको नाममा २ करोड सात लाख कर्जा प्रवाह गरिएको खुलेको छ ।

लामिछानेमाथि कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ । अहिले उनीमाथि चितवनमा बयान भइरहेको छ । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई कास्की, रुपन्देही, काठमाडौं हुँदै अहिले चितवन लगिएको हो । सुरुमा लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको थियो ।प्रहरी अधिकृतहरुले यो बीचमा ऋण तिर्न भन्दै लामिछानेले काटेका चेकहरू समेत बरामद गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *