सानिमा बैंकको २०औं वार्षिकोत्सवमा रक्तदान
काठमाण्डौं । सानिमा बैंकको २० औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले सामुदायिक सेवा केन्द्र–नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको हो । बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेद्वारा सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे । सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा देशैभर रहेका शाखाहरुबाट रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । सानिमा बैंकको सातै प्रदेशमा हाल १३५ वटा कार्यालयहरु र १२५ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।