नेपाल टेलिकमको जुम्लामा फाइबर इन्टरनेट विस्तार

काठमाडौं । नेपाल टेलिकमको जुम्लामा एक हजार ग्राहकले तीव्र गतिको फाइबर इन्टरनेट सेवा जडान गरेका छन् । अहिले जिल्ला सदरमुकाम खलङ्गा बजारमा मात्र फाइबर इनटरनेट सेवा दिएको छ । यहाँका ८ स्थानीय तहमा टेलिकमको फाइबर इन्टरनेट सेवा विस्तारका लागि काम भइरहेको छ । जिल्लाका धैरै जसो सरकारी कार्यालय र व्यक्तिगत पुरानो टेलिफोनको प्रविधिलाई फाइबर इन्टरनेटमा परिणत गरिएको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख सुवास शाहले जानकारी दिए । चन्दननाथ नगरपालिका भित्र मात्रै एक हजार ग्राहकले फाइबर इन्टरनेट जडान गरेका छन् ।

कार्यालय प्रमुख शाहले भने, ‘जिल्लामा फाइबर इन्टरनेटको माग बढेको छ । निजी कम्पनीको भन्दा सस्तो र राम्रो छ । यस कारण ग्राहक आकर्षित छन् । इन्टरनेटसँगै टेलिफोन र टेलिभिजनको सुविधा पनि प्रदान गरेको कार्यालय प्रमुख शाहको भनाइ छ । इन्टरनेटको स्पिडअनुसारको शुल्क फरकफरक निर्धारण गरिएको टेलिकमले जनाएको छ । यहाँका आठवटै स्थानीय तहका २० स्थानबाट फोरजी सेवा र सातवटा ठाउँमा टुजी सेवा सहितका टावरबाट सञ्चार सेवा प्रवाह भएको टेलिकमले जनाएको छ ।

टेलिकमको एनटी फाइबर गत वर्षको जेठ १० गते कालिकोट र जेठ ११ गते जुम्लामा सो सेवाको शुभारम्भ भएको थियो । एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी अब त्यस क्षेत्रका सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *