भ्रष्टाचार अन्त्यसहित सुशासनका पक्षमा समग्र राज्य एक हुनुपर्छ : उपप्रधानमन्त्री सिंह
ललितपुर। उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक संस्था र राज्यको प्रणालीलाई कमजोर बनाउने भ्रष्टाचार अन्त्यका लागि समग्र राज्य एक हुनुपर्ने बताएका छन् ।
‘भोलिको सदाचार निर्माणः युवाहरूसँग भ्रष्टाचार विरुद्धको ऐक्यबद्धता’ भन्ने नाराका साथ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले आवश्यक नीतिगत तथा कानुनी व्यवस्थासहित भ्रष्टाचार अन्त्यका पक्षमा वर्तमान सरकार क्रियाशील रहेका बताए ।
“भ्रष्टाचार एउटा सङ्गठित अपराध हो, यसले घूसखोरी र आर्थिक अनुशासनलाई बढावा दिएर मुलुकको विकासलाई सुस्त बनाउँछ, निर्वाचन प्रणालीलाई प्रभावित गरी राजनीतिक अस्थिरता बढाउँछ, भ्रष्टाचार न्यूनीकरण तथा नियन्त्रणका पक्षमा राज्य निर्मम र कठोर हुनुपर्दछ भन्ने मान्यताका साथ सरकारले काम गरिरहेको छ ।” उपप्रधानमन्त्री सिंहले भने, “सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त हो, प्रविधिको विकाससँगै भ्रष्टाचारको स्वरुप पनि जटिल बन्दै गएको छ, राज्य अझ बढी सक्रिय हुन जरुरी छ, भ्रष्टाचारको अन्त्य गरी सुशासन सहितको सभ्य समाज निर्माणका लागि राज्य संयन्त्र अन्तर्गतका जिम्मेवार सबै अधिकारीहरु एक भई अघि बढ्नु पर्दछ ।”
संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले महालेखा परीक्षकको वार्षिक प्रतिवेदनका आधारमा भ्रष्टाचारको विषय गम्भीर देखिएकाले त्यसको नियन्त्रणका लागि सम्बद्ध सबै एक हुनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव फणीन्द्र गौतमले २००५ डिसेम्बर ५ देखि लागू भएको भ्रष्टाचार विरुद्धको कानुन हाल एक सय ९१ वटा राष्ट्रमा लागू भएको जानकारी दिँदै हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई बुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाइने गरिएको बताए ।