सिटिजन्स बैंकको अगुवाईमा ६ अर्ब १५ करोड लगानी
काठमाण्डौं । सिटिजन्स बैंकको अगुवाइमा प्रवर्धक गुराँस हाइड्रोपावर लिमिटेड रहेको संखुवा खोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ। सिटिजन्सको नेतृत्वमा ४ ओटा बैंकहरूले ६ अर्ब १५ करोड रुपैयाँ लगानी गर्ने भएपछि ४१.०६ मेगावाटको उक्त जलविद्युत् आयोजनामा लगानी जुटेको हो । सोमबार प्रवर्धक र लगानीकर्ताबीच सम्झौता भएको हो। आयोजनमा प्रवर्धक कम्पनी गुराँस हाइड्रोपावरको २ अर्ब ५ करोड लगानी रहनेछ। यस आयोजनाको ८ अर्ब २० करोड रुपैयाँ कुल लागत अनुमान गरिएको थियो । परियोजनाको अनुमानित लागत करीब रु. ८ अर्ब २० करोड मध्ये बैंकहरुले ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा रु. ६ अर्ब १५ करोड बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये सिटिजन्स बैंक लि.बाट रु. २ अर्ब ९० करोड, एभरेष्ट बैंक लि.बाट रु. १ अर्ब २५ करोड, नेपाल एस.बि.आइ. बैंकबाट १ अर्ब २५ करोड र सानिमा बैँक लि. बाट रु. ७५ करोड लगानी हुनेछ भने २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने छ । परियोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको संखुवासभा स्थित सित्तलपाटी सब स्टेशनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ७५.०४१ गिगावाट घन्टा र बर्षायाममा १६५.८८८ गिगावाट गरी बार्षिक २४०.९२९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।