सांगीतिक कार्यक्रमका लागि विशेष अण्डरवेयर
सांगीतिक कार्यक्रममा कलाकारहरुको प्रस्तुती आँखा नझिम्काइकन र केही पनि नछुटाइकन हेर्न चाहने संगीतप्रेमीका लागि एउटा विशेष खालको अण्डरवेयर तयार गरिएको छ । यसको नाम ‘पिट डाइपर’ हो । बेलायतको पानी कम्पनी लिक्विड डेथ र अमेरिकी भित्री बस्त्र निर्माता कम्पनी डिपेन्ड मिलेर उक्त विशेष अण्डरवेयर तयार पारेका हुन् । कन्सर्टमा संगीतको आनन्द लिन जाने दर्शकहरुका लागि लक्षित गर्दै उक्त भित्री बस्त्रको डिजाइन गरिएको छ । यसले संगीतको नशामा झुम्ने दर्शकलाई पिसाब लागेर बीचमै पिसाब गर्न जानुपर्ने चिन्तालाई समाप्त पारिदिएको छ । पिट डाइपर खासगरी त्यस्ता मानिसहरुका लागि डिजाइन गरिएको छ, जसले संगीत कन्सर्टका बेला एक पल पनि ब्रेक लिन चाहँदैनन् । यो केवल कामकाजी मात्र होइन एउटा फेसन आइकन पनि हो । यसको मूल्य ५९ पाउण्ड अर्थात् करीब १० हजार रुपैयाँ छ । मेटल म्युजिकका फ्यानहरुका लागि तयार गरिएको यो पहिलो यस्तो प्रडक्ट हो, जसलाई लगाएपछि फ्यानहरुले कन्सर्टका बेला कुनै रोकावट र यताउति नगरिकनै संगीतको आनन्द लिन पाउनेछन् । यो अण्डरवेयरको खास विशेषता भनेकै यसमा पिसाब गरिसकेपछि पनि त्यसको गन्ध आउँदैन । पिसाब नचुहिने र लगाउनका लागि कत्ति पनि असजिलो नहुने दाबी निर्माताको छ । यसलाई मेटलकोर ब्याण्ड कन्भर्जका ड्रमर बेन कोलरले प्रवद्र्धन गरेका छन् । कोलरका अनुसार दर्शकका लागि बाथरुम जाने समय मिलाउन सांगीतिक प्रस्तुतीलाई रोक्न सकिँदैन । त्यसैले पिट डाइपर लगाएपछि ढुक्कले कार्यक्रमभर नै पानी पिउन सक्ने र कुनैपनि सांगीतिक प्रस्तुती छुटाउनु नपर्ने उनको भनाइ छ । यो अण्डरवेयरलाई फेसन र फंक्सनको मेल भनिएको छ । क्रुएल्टी फ्री क्विल्टेड लेदरबाट यो पिट डाइपर बनेको छ । यसमा चेन हुनुका साथै काँडेदार स्वरुप छ । यसमा डिपेन्ड कम्पनीको विशेष ‘डाइपर गार्डस् फर मेन’ रहेकाले यो लगाउनेले निर्धक्क भएर त्यसमा पिसाब फेर्न सक्दछन् । ५९ पाउण्ड मूल्यमा बिक्री गर्ने यो अण्डरवेयर Liquid Death कम्पनीको वेबसाइटमा मात्रै उपलब्ध थियो र लञ्च भएको केही छिनमै यो सोल्ड आउट भयो । अब यसलाई पुनः उत्पादन गरेर कहिले बजारमा उपलब्ध हुन्छ भन्ने कुरा खुलाइएको छैन । वास्तवमा पिट डाइपर केवल मेटल म्युजिक फ्यानका लागि एउटा समाधान मात्र होइन एउटा नयाँ ट्रेण्ड पनि हो । चाहे तपाईं संगीत मेलामा हुनुहोस् वा आफ्नो मनपर्ने ब्याण्डको कन्सर्टमा । यो सामानले तपाईंलाई कुनैपनि सांगीतिक प्रस्तुती नछुट्ने कुराको सुनिश्चितता प्रदान गर्दछ ।