मुग्लिन–पोखरा सडकको पश्चिम खण्ड म्याद दोस्रोपटक थप

मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड)को म्याद दोस्रोपटक थपिएको छ । पृथ्वी राजमार्ग विस्तार गर्ने काम जारी रहेकामा जामुनेदेखि पोखरासम्मको उक्त खण्डमा दोस्रोपटक म्याद थप गरिएको हो । पश्चिम खण्डको म्याद ०८२ पुस १६ गतेसम्मका निम्ति थपिएको मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर सौजन्य नेपालले जानकारी दिए । पश्चिम खण्डमा ०७८ जेठ २ मा सम्झौता भई ०७८ भदौ १२ गतेदेखि काम सुरु गरिएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यसअघि, ०८१ भदौ १२ गतेसम्म निर्माणको म्याद रहेकामा त्यस अवधिमा उल्लेख्य प्रगति भएको थिएन । त्यसपछि पहिलोपटक १०१ दिनका निम्ति म्याद थपिएको थियो ।

दोस्रोपटक थपिएको म्यादभित्र निर्माण कम्पनीले काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । हालसम्म यो खण्डमा ३४.९४ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । हालसम्म २३.९१ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये ५.४५ किलोमिटर दुईतर्फी र १८.४६ किलोमिटर एकतर्फी कालोपत्र गरिएको छ । पश्चिम खण्डअन्तर्गत म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र पोखरा महानगरपालिका पर्छन् । यो खण्डमा ११ पुल निर्माण गर्ने लक्ष्य छ । पाँच पुल निर्माण सम्पन्न गरिएको छ । ०२६ मा रेखांकन गरिएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा बाटो चार लेनको बनाउन लागिएको हो । पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको छ । रासस

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *