मानसिक स्वास्थ्य अध्ययन गर्न गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं । गृहमन्त्रालय र काठमाडौं विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सोमबार गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा. टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. दिपक कुँवरले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । गृहमन्त्री रमेश लेखकले अब गृहमन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा आत्महत्याको घटनालाई नियन्त्रण र न्यूनीकरणमा काम हुने बताए । गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा एक वर्षमा आत्महत्याको घटना ठूलो संख्यामा घट्ने गृहमन्त्री लेखकले विश्वास व्यक्त गरे । ‘आत्महत्याको विषय गम्भीर भएको छ । प्रत्येक दिनको रेकर्ड हेर्दा म आत्तिन्छु, डराउछु । पछिल्लो २४ घण्टामा मात्र ३७ जनाले आत्महत्या प्रयास गरेका छन् । जसमध्य ११ जनाको मुत्यु भएको छ । बचेका २६ जनाले जुन सुकै बेलापनि आत्महत्या गर्ने खतरा हुन्छ,’ उनले भने ।
आत्महत्याको कारण, कारक र निदानको उपायको खोजीका लागि काठमाडौं विश्वविद्यालयले अध्यायन र अनुसन्धान गर्ने उनको भनाइ छ । ‘नेपाल प्रहरीले पनि आत्महत्या न्यूनीकरण कार्ययोजना २०८१ जारी गरेको छ । आत्महत्या न्यूनीकरण गर्ने कुरामा हामीले काम राखेकै छौं । तर यत्तिले पुगेन । थप अगाडि बढ्नुपर्यो । त्यसका लागि काठमाडौं विश्वविद्यालयलेसँग मिलेर काम गर्दा उपलब्धी प्राप्त गर्छौँ,’ मन्त्री लेखकले भने ।