मुक्तिनाथ विकास बैंकले डाक्यो साधारण सभा
काठमाण्डौं । मुक्तिनाथ विकास बैंकले आफ्नो १८ औँ वार्षिक साधारण सभा पुष २९ गते पोखराको बुलौदीस्थित पोखरा इमेन्ट सेन्टरमा बिहान ११ बजे सभा बोलाएको छ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम १०० रुपैयाँ अंकित दरले रु १ अर्ब बराबरको मुक्तिनाथ ८.५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पेश हुनेछ । त्यसैगरी हाल कायम पुँजी वृद्धि गरी ८ अर्बबाट १० अर्ब पुर्याउने र सोहीअनुसार प्रबन्धपत्र पनि सभामा संशोधन गरिनेछ ।
साथै गत आर्थिक वर्षको बैंक र सहायक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडको वार्षिक र लेखापरीक्षण प्रतिवेदनलगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ । वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले पुष १९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले पुष १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन । शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।