बालकोट बाबु-छोरा हत्या प्रकरणमा प्रहरीले जेठा छोरालाई नियन्त्रणमा लियो
काठमाडौं । भक्तपुरको बालकोटमा बाबुछोरा हत्या प्रकरणमा प्रहरीले जेठा छोरालाई नियन्त्रणमा लिएको छ ।
हुलाक कार्यालयका कर्मचारी कुलप्रसाद आचार्य र उनका छोरा प्रवीणको हत्याबारे अनुसन्धान गरिरहेको प्रहरीले जेठा छोरा मिलनलाई पक्राउ गरेको हो । उनलाई महाराजगञ्ज प्रहरीबाट नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।
सोमबार बिहान खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका ५६ वर्षीय आचार्य र कान्छो छोरा २२ वर्षका प्रबिन मृत भेटिएका थिए । सँगै बस्ने जेठा छोरा मिलन फरार थिए । लाइसेन्स बनाउन बुबा कूलप्रसाद खोटाङबाट भक्तपुर आएका थिए । मिलनले डमबेल र सिलौटोले हानेर बुबा र भाइलाई मारेपछि डेरामै रहेको स्कुटी छाडेर इनड्राइभबाट मोटरसाइकल मगाएर भागेका थिए ।
उनले नै बाबु र भाइको हत्या गरेको हुनसक्ने आशंकासहित प्रहरीले मिलनलाई खोजि गरिरहेको थियो । यसैबीच मिलनले महाराजगञ्ज प्रहरीमा पुगेर आफ्ना बाबु र भाइको हत्या आफैले गरेको स्वीकार गर्दै आत्मसमर्पण गरेका हुन् ।