कजाकिस्तान विमान दुर्घटना : २५ जनाको सकुशल उद्धार
काठमाडौँ । कजाकिस्तानको अक्ताउ एयरपोर्ट नजिकै विमान दुर्घटना भएको छ ।
अजरबैजान एयरलाइन्सको विमानमा ६२ यात्रु र पाँच चालक दलका सदस्य सहित ६७ जना सवार रहेका थिए । दुर्घटनामा २५ जनाको सकुशल उद्धार गरिएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार ३० जना भन्दा बढीको मृत्यु भएको छ । यद्यपी मृत्यु हुनेको संख्या यकिन नभएको बताइएको छ ।
प्राप्त जानकारीका अनुसार विमान अक्ताउ सहरमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएर आगोको गोलामा परिणत भएको थियो । प्रारम्भिक रिपोर्टमा अजरबैजान एयरलाइन्सको विमान अजरबैजानबाट रुस जाँदै गरेको देखाइएको थियो । यसैबीच यसमा केही प्राविधिक त्रुटि देखिएको छ । त्यसपछि विमानले अक्ताउ विमानस्थलबाट आकस्मिक अवतरणको अनुमति मागेको थियो । तर, यही क्रममा विमान दुर्घटनाग्रस्त भयो ।
विमानमा अजरबैजानका ३७, रूसका १६, कजाकिस्तानका ६, किर्गिस्तानका ३ यात्रु रहेको बताइएको छ । उडिरहेको एम्ब्रेयर १९० एएचवाई ८२४३ विमानसँग चरा ठोक्किएको दाबी गरिएको छ । जसका कारण विमानका पाइलटले आपत्कालीन अवतरणका लागि अक्ताउ विमानस्थलमा सम्पर्क गरेका थिए । तर, विमान अवतरण गर्नुअघि नै स्टेयरिङ फेल भएर दुर्घटनामा परेको बताइएको छ ।