सहकारीमा बचतको सीमा लगाइँदै, कार्यक्षेत्रको आधारमा १० लाख, २५ लाख र ५० लाख
काठमाण्डौं । सरकारले सहकारीसँग सम्बन्धित एक अध्यादेश मार्फत् सहकारी संस्थामा गर्न पाइने बचतको सीमा निर्धारण गर्न लागेको छ।बचतको सीमा संस्थाको कार्यक्षेत्रको आधारमा हुने तोकिएको छ । एक सहकारी संस्थामा कुनैपनि व्यक्तिले ५० लाख भन्दा बढी रकम जम्मा गर्न गर्न पाइने छैन । सरकारले एकभन्दा बढी प्रदेश कार्यक्षेत्र भएका संस्थामा एक जना व्यक्तिले अधिकतम ५० लाख रकम बचत गर्न सक्ने अध्यादेश ल्याएको हो । मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले पारित गरेको अध्यादेशमा यस्तो व्यवस्था गरिएको जनाइएको छ । अध्यादेशमा एकभन्दा बढी जिल्ला भएका संस्थामा एकजना व्यक्तिले २५ लाख रूपैयासम्म बचत गर्न सक्ने व्यवस्था गरिएको छ भने एउटा जिल्ला भित्रमात्र कार्यक्षेत्र रहेको बचत तथा ऋण सहकारी संस्थामा यस्तो सीमा १० लाख रुपैयाँको छ ।
यसअघि सरकारले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा १९ कानुन एकसाथ संशोधनका लागि प्रस्ताव गर्दा सहकारीमा २५ लाख रुपैयाँ भन्दा बढी जम्मा गर्न नपाउने गरी व्यवस्था गर्न प्रस्ताव गरेको थियो। कानुन न्याय तथा मानव अधिकार समितिले रकम जम्मा गर्ने सीमाको व्यवस्था हटाएको थियो। साथै अहिले २५ लाखभन्दा बढी रकम सहकारीमा बचत गरिरहेका व्यक्तिहरूले पाँच वर्षभित्र सीमाभित्र रकम ल्याउनुपर्ने व्यवस्था राख्न विधेयकमा प्रस्ताव गरेको थियो। तर सरकारले यसपटक अध्यादेश मार्फत् यस्तो अवधि घटाएर २ वर्षमा झारेको छ। अध्यादेशमा सहकारी संस्थामा दश लाख रुपैयाँ भन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रूपमा स्रोत खुलाउनुपर्ने व्यवस्था गरेको छ। स्रोत नखुलाएको बचत तथा ऋण सहकारीले स्वीकार गर्न पाउने छैन।
