एमएडब्लू वृद्धि ‘सांग्रिला न्यु इनर्जी नीति’ अवार्डबाट सम्मानित
काठमाडौं । नेपालका लागि चांगान तथा दिपलका फ्युचरिस्टिक ईभीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि अटोकर्प प्रालि चांगानको प्रतिष्ठित ‘सांग्रिला न्यु इनर्जी नीति’ अवार्डबाट सम्मानित भएको छ । विद्युतीय सवारीसाधन विस्तारमा अद्वितीय योगदान पुर्याउनुका साथै नेपाली अटोमोबाइल बजारमा महत्त्वपूर्ण भूमिका निभाएको भन्दै दोस्रो ठूलो चिनियाँ अटोमोबाइल समूह चांगानले एमएडब्लू वृद्धिलाई यो अवार्ड प्रदान गरेको हो । एमएडब्लू वृद्धिका अध्यक्ष विष्णुकुमार अग्रवाललाई चांगानको हेडक्वार्टर चीनको चोङकिङ प्रान्तमा जारी ‘चांगान ग्लोबल पार्टनर्स कन्फिरेन्स’मा यो अवार्ड हस्तान्तरण गरिएको हो ।
हरित र स्मार्ट भविष्यको विकास गर्दै दीर्घकालीन गतिशिलतामा एमएडब्लू वृद्धिको प्रतिबद्धता र नेपालमा ईभीको सफल प्रवर्द्धनलाई मध्यनजर गरी यो अवार्ड दिइएको चांगान ग्लोबलले जनाएको छ । ‘यो सम्मानले हाम्रा ग्राहक र साझेदारको विश्वास र साथलाई प्रतिनिधित्व गर्छ, अग्रवालले भने, ‘हामी सफल र सुध्रित भविष्यका लागि नेपालमा अत्याधुनिक विद्युतीय सवारीसाधन र दीर्घकालीन समाधान ल्याउन प्रतिबद्ध रहनेछौं । दीर्घकालीन भविष्यको नेतृत्व गर्ने चांगानको विश्वव्यापी नीतिलाई अवलम्बन गर्दै एमएडब्लू वृद्धिले फ्युचरिस्टिक र ग्राहकमैत्री उत्पादनहरुमार्फत नेपालको ईभी क्रान्तिलाई अघि बढाइरहेको छ ।