काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा ४४ जना प्रतिवादी

काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा बुझाउँदैछ। जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान सकेर प्रहरीले सकेसम्म बुधबार वा बिहीबारसम्म अनुसन्धान प्रतिवेदन बुझाउने तयारी छ। अहिले लेखा सदस्य सुनिता नेवा र कर्जा सदस्य कमल लामा मात्रै परिसरको हिरासतमा छन्। केही प्रतिवादीहरू कास्कीमा र अन्य फरार छन्। यसमा प्रहरीले पूर्वअध्यक्ष जिबी राई, उनका दाइ देवेन्द्रबाबु राई, रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, कुमार रम्तेल, सबिना आलेमगर, लगायतविरूद्ध मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ। आलेमगर अखिल (क्रान्तिकारी) का नेता दिपेश पुनकी श्रीमती हुन्। प्रहरी स्रोतका अनुसार उनीहरूसहित ४४ जनाविरूद्ध मुद्दा चलाउन प्रहरीले राय दिएको हो। यसमा सरकारी वकिल कार्यालय काठमाडौंले अभियोजन गरेर मुद्दा कति जनाविरूद्ध चलाउने नचलाउने भन्ने निर्णय गर्नेछ। यद्यपि प्रहरीले ४४ जनाविरूद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत लिइसकेको छ। यो निर्णयपछि केहीदिनभित्रै जिल्ला अदालत काठमाडौंमा मुद्दा पेश गर्नुपर्ने कानुनी बाध्यता छ। काठमाडौंमा प्रहरीले सहकारी बचत रकम अपचलन र संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको हो। संगठित अपराधमा ६० दिनसम्म हिरासतमा राखेर मुद्दा पेस गर्नुपर्ने व्यवस्था छ। स्वर्णलक्ष्मी सहकारीका काठमाडौंका न्युरोड, महाराजगन्ज, स्वयम्भू, जोरपाटीमा शाखा थिए। त्यहाँ ५६६९ जनाले बचत संकलन गरेका थिए। पीडितले यसको अनुसन्धानका लागि प्रहरी वृत्त कालिमाटीमा जाहेरी दिएका थिए। पछि यसको थप अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा ल्याइएको थियो। प्रहरीले वैशाख २१ गतेदेखि यसको अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा प्रहरीले सर्भरको डाटा पनि निकालेको थियो। सर्भरअनुसार सहकारीमा कुल दुई अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ जम्मा भएको थियो। तर विभिन्न समयमा जिबी राईसहितले गोर्खा मिडिया नेटवर्कलगायत कम्पनीमा ऋण लगे। अहिले प्रहरी कहाँ ६९० जनाको ९३ वटा जाहेरी परिसरमा परेको छ। त्यसमध्ये एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो अपचलन भएको प्रहरीको निष्कर्ष छ। यद्यपि यो बचत रकम अपचलनमा प्रहरीले थप जाहेरी आउनसक्ने आकलन गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकारीले यसमा अहिले अनुसन्धानको प्रतिवेदन बुझाइएको भए पनि आवश्यकताअनुसार थप अनुसन्धान गर्न सकिने बताए। ‘अहिले प्रतिवेदन बुझाइँदैछ, अब अन्य आवश्यकता अनुसार काम अघि बढ्छ। पुरक पनि लग्ने सक्ने व्यवस्था छ,’ ती अधिकारीले भने। प्रहरीका अनुसार गोर्खा मिडियामा मात्रै ६४ करोड रकम गएको छ। यसमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ६४ करोड ८३ लाख ३८ हजार ४६५ रुपैयाँ सहकारीबाट कम्पनीमा रकम आएको प्रहरीले जनाएको छ। यसमा विभिन्न संचालकहरू समेतका नाममा प्रवाह भएको रकम उल्लेख छ। प्रहरीले गोर्खा मिडियाको हकमा उक्त रकम नै बिगो मागदाबी गरेको छ। त्यसबाहेक २०७८ साउन ४ मा पनि सोही सहकारीबाट गोर्खा मिडिया अध्यक्ष राई र प्रबन्ध निर्देशक लामिछानेले ‘फोर ह्विलर’ गाडी किन्न ४६ लाख ९८ हजार कर्जा लगेको देखिएको थियो। जिबी राई र रवि लामिछानेका नाममा २०७८ पुस १ मा ‘इको सेभेन सिटर भ्यान’ किन्न भन्दै ४६ लाख ८८ हजार लगेको खुलेको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीले गरेको अनुसन्धानमा सूर्यदर्शन सहकारीबाट स्वर्णलक्ष्मी सहकारीको नाममा ऋण प्रवाह गरेको देखाएको उल्लेख थियो। कानुन अनुसार अन्तर सहकारी कारोबार गर्न पाइँदैन। तर दुई सहकारीबीच पनि कारोबार भएको भेटिएको हो। कुल एक करोड ३ लाख ३७ हजार ७३९ रुपैयाँ सूर्यदर्शन सहकारीले स्वर्णलक्ष्मी सहकारीबाट पाउनुपर्ने कास्कीको अभियोगपत्रमा उल्लेख छ। अहिले विभिन्न ठाउँमा भएको सहकारीको बचत रकम अपचलनमा गोर्खा नेटवर्क मिडिया केन्द्रमा छ। जिबी राईसहितले विभिन्न सहकारीको रकम मिडियामा लगानी गरेको प्रहरीको अनुसन्धानमा देखिन्छ। स्वर्णलक्ष्मीको अनुसन्धान गर्दा विभिन्न कम्पनीहरूले पनि ऋण लगेको अनुसन्धानको क्रममा देखिएको हो। परिसरले ११ वटा कम्पनीको स्वर्णलक्ष्मीसँग आर्थिक कारोबार रहेको पनि उल्लेख गरेको छ। सो कम्पनीका सञ्चालकहरू समेतको प्रबन्धपत्र नियमावली समेत माग गर्न प्रहरीले कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्राचार गरेको छ। डेभ डीप एग्रिकल्चर एन्ड एनिमल हस्बेन्डरी फार्म, मन्डारा टुर्स एन्ड एक्सपेन्डिशन लिमिटेड, गोर्खा हर्बल प्रडक्सन प्रालि, मन्डारा टुर एन्ड ट्राभल्स लिमिटेड, कुम कुम हर्बल इन्डस्ट्रिज प्रालि, हर्बो इन्टरनेशनल प्रालि, न्यु सुलक्स अफसेट प्रिन्टर्स र गोर्खा ग्रुप अफ कम्पनिज प्रालिविरूद्ध पत्राचार भएको हो। त्यस्तै सारेगामा रेकर्डस प्रालि, भगवती वालुवाखानी प्रालि, स्प्रिङवुड रियलस्टेट प्रालि र गोर्खा मिडिया प्रालिको सहकारीसँग आर्थिक कारोबार रहेको देखिएको हो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *