भक्तपुर जिल्ला बचत संघद्वारा बस्तु तथा सेवा व्यवस्थापन तालिम आयोजना

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघको बस्तु तथा सेवा व्यवस्थापन तालिम सम्पन्न भएको छ । पुष १६ गते संघको अन्तर लगानी तथा वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा सिटी गाउँ होटल भक्तपुरमा सम्पन्न तालिमको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको प्राविधिक साझेदारी रहेको थियो । तालिममा जिल्ला बचत संघका उपाध्यक्ष हरिकृष्ण बल्लले सहकारीमा सदस्य केन्द्रीत वित्तीय सेवा निर्माण गर्नुपर्ने बताए । केही सहकारीमा देखापरेको समस्या समाधानका लागि जारी अध्यादेशले सम्पुर्ण सहकारीलाई समस्या पारेको बताए । नेपालको संविधान विपरित मौलिक हक हनन हुनेगरी वित्तीय सहकारीलाई कार्यक्षेत्रका आधारमा व्यक्तिगत बचत तथा ऋणको सिमा तोक्नु गलत भएको उनको भनाइ थियो । संघका कोषाध्यक्ष कान्छाभक्त घजुले संस्थामा सदस्य केन्द्रीत तथा प्रभावकारी वित्तीय सेवा निर्माणमा टेवा पुर्याउन तालिमको आयोजना गरेको बताए ।

उनले जारी अध्यादेशका अव्यवहारिक व्यवस्थाले सहकारीमा थप अन्यौलको बातावरण सिर्जना गरेको बताए । नेफ्स्कूनका तालिम केन्द्रका प्राचार्य बल्लभ तिमल्सिनाले तालिममा सिकेका कुराहरु कम्तीमा प्रतिवेदन बनाई संस्थाको संचालक समितिमा पेश गर्न आग्रह गरे । उनले बैंक भन्दा राम्रो बनाउन गर्भदेखी स्वर्गसम्मका प्रभावकारी वित्तीय सेवाहरु निर्माण गर्नुपर्ने बताए । संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी तालिम तथा शिक्षामा एकरुपता र प्रभावकारी बनाउन नेफ्स्कून बचत संघ साझेदारी मार्फत तालिम कार्यक्रम गरेको जानकारी दिए । उनले कम सहकारी संख्यामा समस्या देखिएता पनि अपचलन भएको रकमको आधारमा ठूलो समस्या देखिएकोले सरकारले बाध्य भएर सहकारी ऐन संशोधनका लागि अध्यादेश जारी गरेको हुनसक्ने बताए । तामिलमा संघमा आबद्ध संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा उच्च कर्मचारीहरुलगायत २० जनाको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *