भारी हिमपातपछि अमेरिकाको ६ राज्यमा आपतकाल
काठमाडौं । भारी हिमपातपछि हिमआँधीको पूर्व चेतावनी दिँदै अमेरिकाको छ राज्यमा आपतकाल घोषणा गरिएको छ । केन्टुकी, भर्जिनिया, कन्सास, अर्कांसस र मिसौरीलगायतका राज्यमा आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ । देशभर ६० मिलियन बढी नागरिकलाई शीतकालीन अलर्ट जारी गरिएको छ ।
प्रतिघण्टा ५० माइलको गतिमा आउने भनिएको हिउँ र चिसो हावा मिश्रित आँधी निकै शक्तिशाली अनुमान गरिएको छ । जसले सोमबार मध्य र पूर्वी अमेरिका प्रभावित हुने बताइएको छ । पूर्वी क्षेत्रको ओहियो नदी घाँटी हुँदै फैलिएको आँधी सोमबार मध्य एटलान्टिकसम्म पुग्ने अनुमान गरिएको छ । एनओएएको मौसम पूर्वानुमान केन्द्रका अनुसार यो एक दशकपछिकै सबैभन्दा भारी हिमपात हो ।