एनआईसी एशिया बैंकद्वारा निर्मित पुस्तकालय भवन उद्घाटन
काठमाण्डौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बागमती प्रदेशको चितवन जिल्ला स्थित राप्ती नगरपालिका–७ मा अवस्थित श्री वीरेन्द्र आदर्श माध्यमिक विद्यालयमा निर्माण गरेको पुस्तकालय भवनको उद्घाटन गरेको छ। यस अवसरमा, बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीहरूको उपलब्धता सुनिश्चित गर्न र उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्य राखेर उक्त पुस्तकालय भवन निर्माण गरेको हो। पुस्तकालय भवनको उद्घाटन समारोहमा सोही नगरपालिका, वडा नम्बर ७ का वडा अध्यक्ष सुमिता डल्लाकोटी, एन आई सी एशिया बैंक बागमती प्रदेशका प्रमुख दिलिप डाँगी, बागमती प्रदेश २ का उपप्रमुख रामकृष्ण काफ्ले, र सम्बन्धित विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यस पुस्तकालय उद्घाटनसँगै उक्त विद्यालयका झन्डै १०५० विद्यार्थी र शिक्षकरशिक्षिकाहरूले प्रत्यक्ष लाभ प्राप्त गर्नेछन्। एनआईसी एशिया बैंकले यो पुस्तकालय भवन निर्माणको लागि कुल रु। २ करोड ५ लाख ३० हजारको बजेट विनियोजन गरेको थियो। यस अघि, बैंकले विभिन्न प्रदेशमा अन्य सामुदायिक विद्यालयहरूको पुस्तकालय भवन निर्माण गरेर हस्तान्तरण गरिसकेको छ। लुम्बिनी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशका विभिन्न विद्यालयहरूको पुस्तकालय भवन पनि निर्माण गरेर ती विद्यालयलाई हस्तान्तरण गरिएको छ। यो पुस्तकालय भवनहरूसँगै ११ हजारभन्दा बढी विद्यार्थीहरूले शैक्षिक सामग्रीहरूको पहुँच पाउने छन् । जसले उनीहरूको शैक्षिक गुणस्तर वृद्धि र व्यक्तित्व विकासमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ। बैंकले यस प्रकारका परियोजनाहरू मार्फत नेपालका विद्यालयहरूमा शैक्षिक सुधार ल्याउन आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ।