गैरआवासीय नागरिकताको समस्या छिट्टै समाधान हुन्छ- गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धी समस्या छिट्टै समाधान हुने बताएका छन् ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको अन्तरक्रियामा क्रममा गृहमन्त्री लेखकले उक्त कुरा बताएका हुन् । गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनमा देखा परेका जटिलता संसदको आगामी (हिउँदे) अधिवेशनबाटै सम्बोधन गर्ने उनले बताए ।
‘सरकारले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनसहित नेपालको विद्यमान कानुनमा रहेका समस्याहरू समाधानका लागि बृहत् छलफलपछि विभिन्न एक दर्जन ऐन संशोधनका लागि संसदमा प्रस्तुत गर्दछौँ । यसै अधिवेशनबाट अधिकांश समस्या समाधान हुन्छ’, गृहमन्त्री लेखकले भने ।