पार्टी अध्यक्ष पनि निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्छ- उपमहासचिव शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पनि निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्ने बताएका छन् ।
केन्द्रीय समितिको बैठकमा आज विशेष समय लिएर बोलेका शर्माले पार्टीको विधान सम्मेलनबाट पार्टीका सबै कमिटी निर्वाचनको प्रक्रियाबाट चयन हुने निर्णय भइसकेकाले अब अध्यक्ष पनि निर्वाचित भएर आउनुपर्ने बताएका हुन् । ‘विधान सम्मेलनले निर्वाचन प्रक्रियाबाट पार्टीका सबै कमिटी गठन हुने विधि विकास गरिसकेको छ । अध्यक्षको हकमा त्यो कार्यान्वयन किन गर्न नपर्ने हो ?’ अध्यक्षमा हामी कसैले दाबी गर्ने होइन, अध्यक्ष उहाँ नै हुने हो । चुनिएर आउन किन डराउनुपर्यो ।’
पार्टीलाई प्राइभेट कम्पनी जसरी चलाएर ‘प्रचण्ड’ सधैँ अध्यक्ष बनिरहेको भन्दै बाहिर आलोचना हुने गरेको चर्चा गर्दै उनले त्यस्तो आलोचना चिर्नका लागि पनि अध्यक्ष निर्वाचनबाट चुनिएर आउनु पर्ने धारणा राखेका हुन् ।
यसअघि केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले उपमहासचिव शर्मालाई बोल्नका लागि ‘विशेष समय’ उपलब्ध गराएका थिए । आइतबारको केन्द्रीय समिति बैठकमा पेस भएको प्रचण्डको राजनीतिक प्रस्तावमाथि धारणा राख्ने क्रममा शर्मालाई मंगलबार विशेष समय उपलब्ध गराइएको हो । अन्य नेताहरुले प्रतिवेदनमाथि धारणा राख्न तीन मिनेटको समय पाएकामा शर्माको हकमा भने १५ मिनेट समय दिइएको एक नेताले जानकारी दिए ।