राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओका लागि ४ जनाको नाम ‘सर्टलिष्ट’मा
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ( नियुक्ति गर्नका लागि ४ जनाको नाम सर्टलिष्ट गरेको छ । सीईओ बन्नका लागि आवेदन दिएका ८ जनामध्ये कम्पनीको पदपूर्ति समितिले ४ जनाको नाम सर्टलिष्टमा राखेको हो । कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार सर्टलिष्टमा महेश रिमाल, राजुनाथ खनाल, रामदेव यादव र सुन्दर पन्थी रहेका छन् । जसमध्ये रिमाल हाल सोही कम्पनीको कार्यवाहक सीईओ हुन् । उनले विगत एक वर्षदेखि कम्पनीको कार्यवाहक सीईओको भूमिका निर्वाह गर्दै आएका छन् । उनी चार्टर्ड एकाउन्टेन्टसमेत हुन् । राजनाथ खनाल नेपाल बैंकको उच्च व्यवस्थापन पदबाट रिटायर कर्मचारी हुन् । उनी साविक बीमा संस्थानको सञ्चालक समितिका सदस्य समेत बनेका थिए । धनुषा घर भएका रामदेव यादव विभिन्न विकास बैंकको उच्च व्यवस्थापन पदमा काम गरिसकेका व्यक्ति हुन् । यस्तै, सुन्दर पन्थी नेपाल बैंकको फष्ट क्लास अफिसर हुन् । स्थायी ठेगाना गुल्मी रहेका पन्थीले बैंकको अपरेशन डिपार्ट सम्हालिरहेका छन् । कम्पनीले सर्टलिष्टमा परेका उमेदवारहरूका लागि प्रस्तुतिकरण र अन्तर्वार्ताको मिति पनि तोकेको छ । प्रस्तुतिकरण माघ ४ गते र अन्तर्वार्ता माग ५ गतेका लागि मिति तोकेको कम्पनीले जनाएको छ । प्रस्तुतिकरण र अन्तर्वार्ता कम्पनीको केन्द्रीय कार्यालयमा हुने पनि कम्पनीले स्पष्ट पारेको छ । कम्पनीले मसिंर ६ गते सीईओको दरखास्त माग गर्दै सूचना सार्वजनिक गरेको थियो । २१ दिनको म्याद राखेर सार्वजनिक गरिएको उक्त सूचनाका आधारमा कम्पनीमा ८ जनाले सीईओका लागि आवेदन दिएका थिए ।