जनउपकार साकोसका व्यवस्थापक घिमिरे जिल्लाकै उत्कृष्ट व्यवस्थापकको रुपमा पुरस्कृत
दोलखा । गौरीशंकर गा.पा २ दोलखामा रहेको जनउपकार बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक चुडामणि घिमिरे जिल्लाकै उत्कृट व्यवस्थापकको रुपमा सम्मानित भएका छन् । जिल्ला सहकारी संघ दोलखाको १९ औं वार्षिक साधारण सभाको अवसरमा घिमिरे जिल्लाकै उत्कृष्ट व्यवस्थापक रुपमा सम्मानित तथा पुरस्कृत भएका हुन् । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष एवं कार्यक्रमका प्रमुख अथिति डि बि बस्नेत र कार्यक्रमका विशिष्ट अथिति एवं बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले सयुक्त रुपमा घिमिरेलाई नगद तथा सम्मान पत्रले सम्मान गरेका थिए ।
व्यवस्थापक घिमिरेले सदस्यहरुलाई सहज र सरल रुपमा वित्तीय सेवा प्रदान गरी जिल्लाको सिङ्गो सहकारी अभियानमा योगदान गरेको भन्दै संघले सम्मान गरेको हो । संघका अध्यक्ष देवी प्रसाद शर्मा फुयालको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । २०७४ सालमा माघ १० गते ५ औं तहको कर्मचारीको रुपमा प्रवेश गरेका घिमिरे २०७७ साल भदौ ३० गतेबाट संस्थाको व्यवस्थापकको रुपमा कार्य गर्दै आएका छन् । संस्थाको मंसिर मसान्तसम्म शेयर पुँजी ३ करोड ७८ लाख, जगेडा कोष २ करोड २३ लाख र अन्य कोषहरु ९० लाख रहेको छ । त्यसैगरी संस्थाको ४१ करोड ८९ लाख बचत संकलन,३५ करोड १६ लाख ऋण लगानी गरी कुल सम्पत्ति ५५ करोड ४१ लाख पुगेको छ । संस्थामा ७ हजार ३३५ सदस्य र २ हजार ५३६ सदस्य बाल सदस्य आवद्ध रहेका छन् । साधारण सभाको अवसरमा जिल्लामा रहेका सहकारी संस्था र व्यक्तिलाई विभिन्न विधामा सम्मान गरिएको थियो