रवि लामिछानेको मुद्धामा आजै फैसला आउने सम्भावना
काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सातै प्रतिवादीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
लामिछानेसहित, छविलाल जोशी, मिना गुरुङ, रामबहादुर खनाल, लीला पछाई, आरती गुरुङ र कृष्णबहादुर गुरुङविरुद्धको मुद्दामा आज सरकारी वकिलको जवाफी बहस हुनेछ । यो मुद्दाको आजै आदेश आउने सम्भावना रहेकोले अदालत क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरूको थुनछेक बहस जारी छ ।
यही पौष ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढी बिगो माग दाबी गरेको छ ।