शिवम् सिमेन्टको वार्षिक साधारण सम्पन्न, ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको वार्षिक साधारण सभाले सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । हाल कायम ५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजीको आधारमा ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको उद्योगले जनाएको छ । काठमाडौंको प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभा गृहमा सोमबार सम्पन्न साधारण सभाले कम्पनीको वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका विवरण समेत पारित गरेको छ ।
यसैगरी साधारण सभाले आगामी आव २०८१।८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ । शिवम् सिमेन्टका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सम्पन्न साधारण सभाले बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्ता र जारी पूँजी ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार ५ सय रुपैयाँ पुर्याउने निर्णय समेत पारित गरेको छ ।