जीबी राईको पासपोर्ट रद्द गर्न कास्की जिल्ला अदालतको आदेश
काठमाडौं । कास्की जिल्ला अदालतले गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द गर्न आदेश दिएको छ। शुक्रबार न्यायाधीश हिमाल बेलबासेको इजलासले राहदानी विभागलाई राईको राहदानी रद्द गर्न निर्देशन दिएको हो । राई तत्कालीन गोरखा मिडिया नेटवर्कका अध्यक्ष हुन् । हाल उनी मलेसियामा रहेको अनुमान गरिएको छ । प्रहरीले उनलाई पक्राउ गर्न एसपीको नेतृत्वमा टोली मलेसिया पठाए पनि पक्राउ गर्न सकेको थिएन । त्यसपछि प्रहरीले राहदानी विभागलाई राईको राहदानी रद्द गर्न पत्र लेखेको थियो ।
तर विभागले रद्द नगरेपछि जिल्ला सरकारी वकिल कार्यालय कास्कीमार्फत अदालतमा निवेदन दर्ता गरिएको थियो । अदालतले शुक्रबार निवेदकले माग गरेअनुसार आदेश दिएको हो । जीबी राईमाथि पाँचवटा सहकारी ठगीको आरोपी छ । काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा चितवन, रुपन्देहीको सुप्रिम, वीरगञ्जको सानोपाइला र कास्कीको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता रहेको बताइएको छ । उनीविरूद्ध कास्की र काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । राईका व्यवसायिक साझेदार रवि लामिछाने भने हाल दुवै अदालतबाट धरौटीमा रिहा भएका छन् ।