विभाजितहरू पनि छिटै सबै एकताबद्ध हुँदैछौँ : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पालिकामा जित हासिल गरेर आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन् । माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका–५, तेतेरियामा आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारीसभामा उनले आउँदो स्थानीय निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो बन्ने जिकिर गरेका हुन् । ०७९ को स्थानीय तह निर्वाचनमा माओवादी तेस्रो बनेको थियो । गएको मंसिर १६ गतेको स्थानीय तह निर्वाचनबाट पूर्व क्षेत्रले माओवादी केन्द्रलाई नयाँ उचाइमा उठाउने सन्देश दिएको उनले उल्लेख गरे । विरोधीहरूले अब माओवादी कमजोर भयो भन्दै फैलाएको अफवाहलाई चिर्दै अघि बढ्ने उनले उद्घोष गरे ।
प्रचण्डले आफ्नो पार्टी ओरालो यात्रामा रहेका बेला कहिले नेपाली कांग्रेस र नेकपा (एमाले)सँग सहकार्य गर्दै केही कमजोरी पनि गरेको बताए । अब आफ्नै बलबुतामा अघि बढ्ने उनले सुनाए । देशबाट भ्रष्टाचारको जरा उखेलेर भ्रष्टाचारीलाई लखेट्नका निम्ति फेरि एकपटक माओवादी केन्द्रलाई बहुमत दिन उनले आग्रह गरे । एकचोटि ०६४ को अनुभव दोहोर्याइयो भने अब माओवादी ०६४ जस्तो विभाजित हुने छैन । विभाजितहरू पनि छिटै सबै एकताबद्ध हुँदै छौँ । आफू नेतृत्वको पछिल्लो सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई अघि बढाएको उनले बताए । तर, वर्तमान सरकारले त्यसलाई कमजोर पारेको उनले आरोप लगाए ।