जनताले वर्तमान सरकारको विकल्प खोजिरहेका छन्- नेपाल
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले परिणाममुखी काम गर्न नसकेको टिप्पणी गरेका छन् ।
मंगलवार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान सरकारले जनतामा कुनै आशा जगाउन नसकेको बताएका हुन् । वर्तमान सरकार गफमा निकै अगाडि र परिणाममा निकै पछाडि रहेको उनको भनाइ छ । मुलुकको विकासका लागि देशको परिवेशलाई सुहाउँदो प्रणाली अवलम्वन गर्न जरुरी रहेको बताउँदै उनले त्यो प्रणाली समाजवादी क्रान्ती नै भएको जिकिर गरे । ‘वर्तमान सरकार गफमा निकै अगाडि र परिणामा निकै पछाडि छ । यो स्थिति भएको हुनाले वास्तवमा मानिसहरुमा विकल्पको खोजि जारी छ । अहिले होइन । त्यसो भएको हुनाले हामी २०८४ को कुरा गरिरहेका छौं’ उनले भने,‘८४ को चुनावको शिलशिलामा जनताको माझमा प्रत्येक पार्टीहरु, समाजवादी अभियानका अभियान्ताहरु अगाडि बढ्नुपर्ने आवश्यकता छ । हामीले दशौं महाधिवेशन सम्पन्न गरेर वैज्ञानिक समाजवादको कार्यक्रम अगाडि सारेको छ ।’
उनले जनताले वर्तमान सरकारको विकल्पको खोजी गरिरहेको उल्लेख गर्दै २०८४ मा विकल्प दिने गरी समाजवादी मोर्चालाई अगाडि बढाउनुपर्ने समेत बताए । प्रतिपक्षमा रहेका अन्य राजनीतिक पार्टीहरुलाई समेत समाजवादी मोर्चामा जोड्दै जानुपर्ने बताए । उनले समाजवादी मोर्चा समाजवादी विचारको आधारमा निर्माण गरिएको उल्लेख गर्दै सबै मिलेर मोर्चाको औचित्य पुष्टि गर्नुपर्ने बताए ।