फिल्म ‘एक्टर: टेक वान’ को रिलिजमा अल्पकालीन रोक
काठमाडौं । जिल्ला अदालत काठमाडौँले फिल्म ‘एक्टर: टेक वान’ को रिलिजमा अल्पकालीन रोक लगाएको छ ।
बुधबारदेखि रिलिज हुन लागेको यस फिल्मको रिलिजमा माघ २२ सम्म रोक्न अदालतले अल्पकालीन आदेश दिएको हो । अदालतले आदेशमा भनेको छ, ‘निवेदकको चलचित्र एक्टर प्रदर्शन भैरहेको र प्रतिवादी कम्पनीबाट निर्मित चलचित्र प्रदर्शनको संघारमा रहेको भन्ने देखिएकोले उक्त छलफलको अवधिसम्म सुविधा र सन्तुलनको हिसाबले ‘एक्टर : टेक वन’लाई सो अवधिसम्म प्रदर्शन नगर्नु नगराउनु भनी चलचित्र विकास बोर्ड समेत विपक्षीको नाममा अल्पकालिन आदेश जारी गरिदिएको छ । आदेशको जानकारी विपक्षीलाई दिनू ।’
आदेशमा माघ २२ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ । फिल्मको रिलिज रोक्न माग गर्दै चलचित्र विकास बोर्डसमेतलाई विपक्षी बनाएर गत माघ ४ गते प्रदर्शित फिल्म ‘एक्टर’का निर्माताले आइतबार रिट दायर गरेका थिए । रिट निवेदक सम्राट थापाले आफ्नो चलचित्रको नाम र कथावस्तु चोरिएको आरोप लगाएका छन् ।
मल्टीप्लेक्सहरुले टिकट बिक्री गरिसकेको अवस्थामा फिल्मको रिलिज रोकिएपछि यसको असर फिल्मलाई पर्ने देखिएको छ । राजन भुसालको निर्देशनमा बनेको फिल्ममा प्रदीप खड्का, राजबल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी, सुशील सिटौला, निश्चल बस्नेत लगायतको अभिनय छ । यही फिल्मबाट राजबल्लभले १० वर्षपछि कमब्याक गरेका हुन् भने दिव्याको यो डेब्यु फिल्म हो ।