यात्रुवाहक विमान र हेलिकप्टरबिच दुर्घटना,जीवित हुने सम्भावना न्यून
वासिङ्टन डिसी । अमेरिकाको वासिङ्टन डिसीमा स्थानीय समयअनुसार बुधबार राति यात्रुवाहक विमान र हेलिकप्टरबिच ठक्करपछि भएको दुर्घटनामा कोही पनि जीवित हुने सम्भावना न्यून भएको अधिकारीहरूले बताएका छन् । यसअघि जीवितहरूको उद्धारमा लागेका उद्धारकर्मीहरूले अब शवहरू निकाल्नमा केन्द्रित भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले बताएको हो । अमेरिकन एयरलाइन्सको विमान सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएर पोटोम्याक नदीमा खसेको थियो । रोनाल्ड रिगन वासिङ्टन नेसनल एयरपोर्टबाट बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान राति ९ बजे हेलिकप्टरसँग ठोक्किन पुगेको थियो । विमानमा ६० जना यात्रु र ४ जना चालक दलका सदस्य रहेका थिए । सैन्य हेलिकप्टरमा ३ जना सैनिक सवार रहेका थिए ।
हालसम्म विमानबाट २७ जनाको शव बरामद भएको छ भने हेलिकप्टरबाट थप एक जनाको शव फेला परेको छ ।विचिटा मेयर लिली वूले पत्रकार सम्मेलन गर्दै उद्धार टोलीले आफूलाई कोही पनि जीवित नरहेको जानकारी रहेको बताइन् । उनले फेला परेको शवको सनाखतपछि परिवारहरूलाई खबर गराइने बताइन् । अमेरिकामा यात्रुवाहक विमान यति ठुलो दुर्घटनामा परेको १६ वर्षपछि पहिलोपटक हो । यसअघि यही विमानस्थलनजिक ४३ वर्षअघि दुर्घटना भएको थियो । जनवरी, सन् १९८२ मा एयरफ्लोरिडाको बोइङ ७३७ विमान १४ औँ स्ट्रिट ब्रिजमा ठोक्किँदै पोटोम्याक नदीमा खसेको थियो । वासिङ्टन नेसनल एयरपोर्ट ९हाल रोनाल्ड रिगन वासिङ्टन नेसनल एयरपोर्ट० मा विमान उडेको केही समयमा नै दुर्घटना हुन पुगेको थियो । उक्त दुर्घटनामा विमानमा सवार ७८ जनाको मृत्यु भएको थियो भने पुलमा यात्रा गरिरहेका ३ जनाको मृत्यु भएको थियो । पुलमा यात्रा गरिरहेका ७ वटा गाडीमा क्षति पुगेको थियो ।