सदन र सडकबाट अध्यादेशको विरोध गर्ने एकीकृत समाजवादीको निर्णय
काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार बसेको बैठकले सरकारले हालै ल्याएका ६ वटा अध्यादेशको विरोध गर्ने निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले बताए । ‘सरकारले ल्याएको अध्यादेशमा कालोबजार ऐनलाई तोडमोडल गर्यो। २० प्रतिशतभन्दा बढी नाफा खान नपाउने ऐन खारेज गर्नेबित्तिकै बजारमा सिमेन्टको मूल्य उच्च रूपमा बढेको छ, उनले भने, ‘मुठिभर व्यक्ति र व्यवसायीहरूको लागि सरकार लागि परेको हुनाले त्यसको विरुद्धमा पार्टी जानुपर्छ भनेर लागेको छ। सरकारले ल्याएको अध्यादेशको सदन र सडक दुवैबाट विरोध गर्ने पनि उनले बताए। सरकारले संरक्षित क्षेत्रका जमिनसमेत सरकारको नाममा ल्याएर त्यो जग्गालाई व्यक्ति, समूह र उद्योगलाई दिने र गिरीबन्धु जस्ता जग्गालाई वैध बनाउने काम गर्न खोजेकोले विरोध गर्नु परेको उनको भनाइ छ।