नेपालमै पहिलोपटक नोबेल मेडिकल कलेजमा न्यूरो इन्ट्राअप्रेटिभ एमआरआई प्रविधि

काठमाडौं । विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजले नेपालमै पहिलोपटक न्यूरो इन्ट्राअप्रेटिभ एमआरआई प्रविधि भित्र्याएर हजारौं बिरामीलाई सफल उपचार गर्न सफल भएको छ । अत्याधुनिक प्रविधिको प्रयोग गरी न्यूरो सर्जरीको जटिलता न्यूनीकरण गर्दै सुरक्षित तथा प्रभावकारी सल्यक्रिया सम्पन्न गरिँदै आएको मेडिकल कलेजले जनाएको छ । न्यूरो इन्ट्राअप्रेटिभ एमआरआई प्रविधिले सर्जरीको क्रममा वास्तविक समयमा बिरामीको स्नायु प्रणालीको गतिविधि अनुगमन गर्न मद्दत गर्दछ । जसका कारण शल्यक्रिया गर्दा सम्भावित जटिलता न्यूनीकरण गर्दै थप सुरक्षित, प्रभावकारी, र न्यूनतम जोखिमयुक्त उपचार सम्भव हुने गर्छ । नोबेल मेडिकल कलेजमा वरिष्ठ न्यूरो सर्जन प्राध्यापक डा।प्रकाश काफ्लेको नेतृत्वमा यो प्रविधि सफलतापूर्वक प्रयोग गरिँदै आएको छ । उनकाअनुसार न्यूरो इन्ट्राअप्रेटिभ प्रविधिबाट ब्रेन ट्यूमर, स्पाइनल इन्जुरी, पार्किन्सन्स, सेरेब्रल पल्सी, हाइड्रोसेफालस (टाउकोमा पानी जम्ने समस्या), हेड इन्जुरी, स्पाइनल ट्यूमर, ब्रेन हेमरेज तथा रगत जमेको समस्या लगायतका गम्भिर न्यूरो समस्याको सर्जरी सफलतापूर्वक सम्भव भएको छ । नेपालमै पहिलोपटक यो प्रविधि नोबेल मेडिकल कलेजमा उपलब्ध छ । जसले भर्खर जन्मिएका शिशुदेखि वृद्धसम्मका बिरामीहरूलाई न्यूनतम जोखिममा सफल उपचारको अवसर प्रदान गरिरहेको छ । नेपाल र भारतका हजारौं बिरामीले यस प्रविधिबाट लाभ उठाइसकेका छन् । आधुनिक प्रविधिसहितको उपचार सेवा प्रदान गर्दै आएको नोबेल मेडिकल कलेजले न्यूरो सर्जरी क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । नोबेल मेडिकल कलेजमा नेपाली कांग्रेसका नेता सांसद डा. सुनिल शर्माको लगानी रहेको छ । सांसद शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौं गरिब दिनदुःखीलाई सेवा प्रदान गर्दै आएका छन् । शिविरमा सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गर्दै आएका छन् । डा. शर्माले नोबेल मेडिकल कलेजमा भने आफ्नो निर्वाचन क्षेत्रका जनतालाई निशुल्क क्याबिन राखेका छन् । साथै, डा। शर्माको काठमाडौंको सिनामगलस्थित काठमाडौं मेडिकल कलेजमा आर्थिक अवस्था नाजुक भएका जनतालाई निशुल्क उपचार हुँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *