‘हरिबहादुरको जुत्ता’को छायांकन

काठमाडौं । अभिनेता हरिवंश आचार्यले जन्मथलो काभ्रेको पनौतीस्थित शंखुबाट आगामी फिल्म ‘हरिबहादुरको जुत्ता’को छायांकन थालेका छन् । सोमबार बिहान भक्तपुरको सूर्यविनायक मन्दिरमा मुहूर्त पूजा गर्दै शंखुबाट छायांकन थालिएको हो । मन्दिरमा कलाकार र निर्माताले पटकथा पुस्तक र क्यामेरा पूजाआजा गरे । ४५ दिनसम्म यो फिल्मको छायांकन काभ्रे र काठमाडौंका विभिन्न लोकेसनमा हुने निर्माता सरोज ओलीले बताए । पहिलो दिन हरिवंश र उनकी पत्नीको भूमिका निर्वाह गर्ने कलाकार रोशनी सापकोटाको दृश्य छायांकनसँगै प्रोजेक्ट सुरु भयो । दीपेन्द्र के खनालले निर्देशन गर्ने फिल्ममा हरिवंशसँगै प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, किरण केसी, मुरलीधरको शीर्ष भूमिका हुनेछ । सरोज ओली र मोहितवंश आचार्यले निर्माण गर्ने फिल्म एसएम मोसन पिक्चर्सको ब्यानरमा बन्नेछ । छायांकन सकिएपछि प्रदर्शन मिति घोषणा गरिने निर्माता ओलीले जानकारी दिए । थुप्रै म्युजिक भिडियोमा सहकार्य गरेका हरिवंश र सरोजले पहिलोपटक कथानक फिल्ममा सहकार्य गर्न लागेका हुन् । निर्देशक खनालसँग पनि हरिवंशको पहिलो सहकार्य हुन लागेको हो । सामाजिक र हास्यकथावस्तुमा बन्न लागेको फिल्म महजोडीको चर्चित पात्र हरिबहादुरको पात्रबाट प्रभावित हुनेछ । हरिवंशले पछिल्लोेपटक महजात्रामा पनि यो भूमिका निर्वाह गरेका थिए । हरिबहादुर दर्शकमाझ निकै रुचाइएको पात्रअन्तर्गत पर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *