एमालेबाट निर्वाचित जिसस प्रमुख थापासहित ५ जनाले गरे कुमारी सहकारीमा डेढ अर्ब अपचलन
काठमाडौं । म्याग्दीको बेनी नगरपालिका ८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत अपचलनसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ । सेयर सदस्य तथा बचतकर्ताको सेयर, बचत तथा संस्थाका कोषहरू हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालय पोखराको सिफारिसका आधारमा ५ जना सञ्चालक, व्यवस्थापक र कागजातहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले थप प्रमाण जुटाउन थालेको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको छानबिन प्रतिवेदनमा ६ हजार बचतकर्ता रहेको विसं २०६५ मा खुलेको कुमारी सहकारीको १ अर्ब ४९ करोड रुपैयाँ अपचलन भएको उल्लेख छ । सहकारीको पैसाबाट ढुकुटी खेलाउने, बोर्डिङ स्कुल, घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग भएको सहकारी रजिष्ट्रारको कार्यालयले जनाएको छ । अनुसन्धानका लागि प्रहरीले कुमारी सहकारीका ५ जना सञ्चालक र व्यवस्थापकलाई माघ २० गते पक्राउ गरेको थियो । प्रहरी निरीक्षक सागर पौडेलले कुमारी सहकारीको विषयमा अनुसन्धानका लागि प्रमाण जुटाउन बचतकर्ताबाट उजुरी लिने काम भइरहेको बताए । माघ २१ गते प्रहरीले सार्वजनिक सूचना जारी गरेर पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दति प्रमाणपत्रलगायत प्रमाणको सक्कल साथमा लिई सम्पर्कमा आउनका लागि अनुरोध गरेको थियो । सहकारीका पूर्वसञ्चालक समितिका उपाध्यक्ष रहेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, तत्कालीन व्यवस्थापक रूद्र गुरूङ, सञ्चालक समितिका पूर्वअध्यक्ष मनप्रसाद थजाली, थमबहादुर गर्बुजा र सञ्चालक देवीकुमारी थापा प्रहरीको हिरासतमा छन् । बेनी नगरपालिका(१ का ३६ वर्षीया थापा गत स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट जिसस प्रमुखमा निर्वाचित भएका थिए । अदालतले अनुसन्धानका लागि उनीहरूलाई दोस्रो पटक माघ २८ गतेसम्म हिरासतमा राख्न अनुमति दिएको छ । उनीहरूमाथि बचतकर्ताको बचत रकम हिनामिना भएको सहकारी ऐन २०७४ अन्तर्गत परिभाषित कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अन्नपूूर्ण गाउँपालिका ७ घराम्दीका ५० वर्षीय डिलबहादुर गर्बुजाले बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा १२ वर्षअघि मुद्दती खाता खोलेर राखेको ४३ लाख रुपैयाँ बचत फिर्ताका लागि धाउन थालेको दुई वर्ष पूरा भयो । ‘१२ वर्ष कतारमा श्रम र पसिना बगाएर कमाएको सबै पैसा राम्रो ब्याजको प्रलोभनमा परेर सहकारीमा राखेको थिए । सहकारीले बचत फिर्ता नगरेपछि हामीहरू विचल्लीमा परेका छौँ,’ उनले भने । १० लाख १४ हजार रुपैयाँ बचत गरेकी घराम्दीकी ५० वर्षीया डिलशोभा गर्बुजाले सहकारीमा रकम डुबेपछि घरब्यवहार चलाउन, छोराछोरी पढाउन समस्या भएको गुनासो गरिन् । ‘श्रीमानले विदेशमा दुःख गरेर कमाएको र मैले कुखुरा चल्ला बेचेर जुटाएको पैसा राखेको वर्षौंसम्म पनि सहकारीले फिर्ता दिएको छैन । आफ्नै पैसाका कारण आफैँले दुःख पाउने अवस्था आयो । डिलबहादुर, डिलसोभा, छबहादुर पाइजालगायत १३ जनाले पीडित शुक्रबार सहकारीमा फसेको रकम उठ्ने आशामा दुई वटा जिप रिजर्भ गरेर प्रहरीमा उजुरीका लागि बेनी आएका थिए । उनीहरूको १ करोड रुपैयाँभन्दा बढी रकम उक्त सहकारीमा फसेको छ । बेनी नगरपालिका ८ मा रहेको उक्त सहकारीबाट पीडित हुने बचतकर्ता घराम्दीका मात्र छैनन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा पछिल्लो ५ दिनयता उक्त सहकारीमा डुबेको बचत रकम फिर्ता दिलाइदिन आग्रह गर्दै उजुरी गर्न आउनेको भीड लागेको छ ।