सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि मर्यादाको ख्याल राख्नुपर्ने : शर्मा
काठमाडौं । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालसम्बन्धी विधेयक आवश्यक संवाद र परिमार्जन गरेर मात्र संसद्बाट पारित गरिने बताएका छन् । उनले सरकार र सामाजिक सञ्जाल दुवैको शैली बदल्न जरुरी रहेकामा जोड दिए । सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि मर्यादाको ख्याल राख्नुपर्ने उनको भनाइ थियो । सामाजिक सञ्जाल संसद्बाहिरको संसद् भएको उनले टिप्पणी गरे । उनले शासन प्रणाली बदलिएको भए पनि शैली अझै बदलिन नसकेको बताए । विधेयक सरोकारवालासँग छलफल र बहस गरेर मात्र ल्याउनुपर्नेमा त्यसो नगरिएको उनले सुनाए । सरकारमै रहेको कांग्रेससँग पनि यसबारे पर्याप्त छलफल नगरिएको उनले गुनासो गरे । सरकार र सामाजिक सञ्जाल दुवैको शैली बदल्न जरुरी छ ।
राजनीतिले पनि आफूभित्र परिवर्तन खोज्नु भनेको छ । सामाजिक सञ्जालको प्रयोगकर्ताहरूले पनि यसको प्रयोग गरिरहँदै गर्दा राख्नुपर्ने मर्यादको सन्दर्भमा गम्भीर बहसमार्फत परिमार्जन गर्न जरुरी छ । सामाजिक सञ्जाल भनेको संसद्बाहिरको संसद् हो । यो संसद्ले सही ढंगले फिडब्याक दिने कर्म गर्यो भने, यो बाहिर रहेको संसद्मा सही प्रश्नमा सही ढंगले खबरदारी गर्यो भने भित्र रहेको संसद्ले आफूलाई अझ बढी जिम्मेवार बनाउन, देश, जनताको मुद्दाप्रति अझै गम्भीर बन्न, आफूलाई परिमार्जित गर्नका लागि सजिलो हुन्छ । शासन प्रणाली बदल्यौँ, तर शासनको शैली अझै बदल्न सकेका छैनौँ । यो विधेयक आउँदै गर्दा आम सरोकारवालाहरूसँग छलफल हुनुपर्दथ्यो । तर, सरकारमै रहेको मुख्य दुई दलको बीचमा पनि गहन संवाद भएन । त्यसले के बताउँछ भने शासन गरिरहँदाको शैली मोर डेमोक्रेटी हुनुपर्दथ्यो, अपनत्वको अनुभूति हुनुपर्दथ्यो । अहिले सामाजिक सञ्जालसम्बन्धी जुन विधेयक आएको छ, यो विधेयक आवश्यक संवादपछि, छलफलपछि, परिमार्जनपछि मात्रै पास हुन्छ ।