गृहमन्त्रीले भोलि केबलकारको आन्दोलनरत पक्षसँग वार्ता गर्ने
काठमाडौं । पाथीभरामा निर्माणाधीन केबलकारको विपक्षमा रहेका आन्दोलनरत पक्षसँग भोलि सरकारले वार्ता गर्ने भएको छ । भोलि साँझ ६ बजे नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले ‘नो केबलकार समूह’सँग वार्ता गर्ने तय भएको नेकपा एमाले सांसद योगेश भट्टराईले जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘वहाँहरूले माननीय गृह मन्त्रीज्यू समक्ष भेटेर आफ्ना कुरा राख्न चाहनु भएको र त्यसको समन्वयका लागि मलाई अनुरोध गर्नु भए अनुरूप मैले गृह मन्त्रीज्यूलाई अनुरोध गरें । माननीय गृह मन्त्रीज्यूले भोलि माघ २८ गते साँझ ६ बजे भेटघाटको समय दिनुभएको जानकारी गराउँदछु ।
आन्दोलनरत पक्षलाई सरकारले तोकेको वार्ता समितिसँग छलफललाई निरन्तरता दिएर वार्ता मार्फ़त समस्याको समाधान गर्न समेत उनले अनुरोध गरेका छन् । आन्दोलनरत पक्ष र सरकारका प्रतिनिधिबीच आज तय भएको वार्ता भाँडिएको थियो । आन्दोलनरत पक्षले राजनीतिक विवाद भएकाले आफूहरु मन्त्रीस्तरीय या उच्च राजनीतिक संयन्त्रसँगमात्रै वार्ता बस्ने भन्दै छलफलबाट हिँडेका थिए । उनीहरुले आज साँझसम्मको समय दिएर मन्त्रीस्तरीय या उच्च राजनीतिक वार्ता टोली नबनाए भोलिदेखि आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने तयारी गरेका थिए । आन्दोलनरत पक्ष र सरकारबीच माघ २५ गते आज विस्तृत बैठक बस्नेसहित ६ बुँदे सहमति भएको थियो ।