तीनवटा टाउको मिलेर देशलाई खाइरहेको अध्यक्ष भट्टराईको टिप्पणी
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले तीनवटा टाउको मिलेर देशलाई पालैपालो खाइरहेको टिप्पणी गरेका छन् ।
पार्टीको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘हामीले पुराना शक्तिले भएन, काँग्रेसले गरेन, यसले गरेन भनिरहेका छौँ । तीनवटा टाउका छन्, उनीहरूले पालैपालो खाइरहेका छन्,’ भट्टराईले भने ।सत्तामा रहुन्जेल धेरै काम गरेको भन्ने र बाहिर निस्किएपछि हरेक कुरा भएन भनेर गुनासो गर्ने प्रवृत्ति उनीहरूमा रहेको उनले जिकिर गरे ।
‘फेरि सत्तामा छउन्जेल उत्पात गरेका छौँ भन्छन् अनि बाहिर निस्किएर यो पनि भएन त्यो पनि भएन भन्छौँ । पटक पटक यी तीनवटा टाउकाले देशलाई हैरान पारिरहेका छन्,’ भट्टराईले भने । उनले देशका समस्याहरू समाधानका लागि पहिचान गरेर अघि बढ्नुपर्ने बताए ।