अख्तियार कसैको दबाब वा प्रभावमा नपरी कसुर र कसुरदार ठूलो वा सानो नभनी काम गर्नु पर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कसैको दबाब वा प्रभावमा नपरी कसुर र कसुरदार ठूलो वा सानो नभनी काम गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोग चुक्ने छैन र झुक्ने छैन भन्नेमा आफू विश्वस्त रहेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भ्रष्टाचारको प्रकृति र स्वरुपमा परिवर्तन भइरहेको अवस्थामा अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्दै जानुपर्ने बताए । उनले सत्ता, शक्ति र धन प्राप्तिको अनावश्यक मोहले प्रक्रिया, पद्धति र प्रणालीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचारतर्फ प्रवृत्त गराउँने बताउदै सूचनाप्रविधिको तिव्र विकास र प्रयोगसँगै भ्रष्टाचारका तरिका र प्रवृत्तिमासमेत जटिलता थपिएको बताए । राष्ट्रपति पौडेलले भ्रष्टाचारसम्बन्धी विधेयकहरू लामो समयसम्म किनारा नलाग्दा पनि केही समस्या आएको गुनासो आइरहेको भन्दै उनले भने, यसमा सम्बद्ध पक्षको म ध्यानाकर्षण गराउन चाहन्छु ।

भ्रष्टाचार नियन्त्रणसम्बन्धी अन्तराष्र्टिय महासन्धीको नेपाल पनि पक्षधर मुलुक भएकाले त्यसमा उल्लेखित प्रावधानअनुरुप हाम्रा कानुन र संयन्त्र परिमार्जन गर्न आवश्यक छ भन्ने पनि मलाई लाग्दछ । उनले सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्तरुप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानविनको दायरामा ल्याउनुपर्ने बताउँदै आयोगले शक्ति र पद हुँदैमा जोकोही कानुनी जवाफदेहीताबाट मुक्त हुदैन भन्ने विश्वास आम नागरिकमा जागृत गराउन सक्नुपर्ने बताए । राष्ट्रपति पौडेलले नागरिकको जीवनस्तरमा गुणात्मक सुधार गरी जनताको विकास र सुशासनप्रतिको उच्च आकांक्षालाई पूरा गर्दै देशको हित, कल्याण र अन्तर्राष्ट्रिय छविको लागि सदाचार, निष्पक्षता, पारदर्शीता एवम् निर्भीकतालाई मूल मन्त्र बनाएर काम गर्न पनि सुझाव दिए । उनले राज्यका निकाय, निजी क्षेत्र, नागरिक समाज र आम नागरिकले आ–आफ्नो तहबाट प्रवद्र्धनात्मक र निरोधात्मक कार्य गरी भ्रष्टाचारको न्यूनीकरणमा जिम्मेवारी बोधसहित भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि तत्परता र सक्रियता देखाउन जरुरी रहेको धारणा राखे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *