डा.भट्टराईले तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने प्रस्ताव गरेका छन् । काठमाडौंमा जारी पार्टीको प्रथम महाधिवेशनमा संयोजक भट्टराईले आफू नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर वैचारिक नेताको भूमिकामा बस्न चाहेको बताएका हुन् । ‘महाधिवेशनको उद्घाटन सत्रपछि सचिवालय बैठकमा उहाँले म नेतृत्व हस्तान्तरण गर्न चाहन्छु, तेस्रो पुस्ताका साथीहरू सल्लाह गरेर टिम बनाउनुहोस्, म वैचारिक नेताको भूमिकामा बस्न चाहन्छु भन्नुभएको हो,’ प्रवक्ता कृष्ण शर्माले भने । प्रवक्ता शर्माका अनुसार सोमबार बिहान बसेको सचिवालय बैठकमा पनि भट्टराईले सोही प्रस्ताव अगाडि सारेका छन् । ‘उहाँले आइतबार साँझ र आज बिहान पनि उही प्रस्ताव दोहोर्याउनु भयो तर सचिवालयका सबैजसो साथीहरूले अहिले परिस्थिति त्यस्तो नरहेकोले उहाँलाई नै अध्यक्षमा दोहोर्याउन सहमत गराएका छौं,’ उनले भने । सचिवालय बैठकमा अधिकांश नेताहरूले वैकल्पिक शक्तिहरू ध्रुवीकरणको क्रममा नेतृत्व हस्तान्तरण गरेर वैचारिक नेताको भूमिकामा बस्न प्रस्ताव गरेपछि भट्टराई अध्यक्षमा उम्मेदवारी दिन तयार भएको प्रवक्ता शर्माले जानकारी दिए । ‘हामीले बरु विशेष महाधिवेशन वा पार्टी ध्रुवीकरणको प्रक्रियामा नेतृत्व हस्तान्तरण उपयुक्त हुन्छ, अहिले विकल्प नखोज्न जोड दियौं,’ उनले भने । पार्टी अध्यक्षमा दाबी गर्ने घोषणा गरेका पूर्व विद्यार्थी नेता नेत्र चापागाईंले भने अध्यक्षमा आफ्नो दाबी नछाड्ने बताएका छन् । ‘मैले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने भन्ने सुनें, नयाँ पुस्तामा नेतृत्व आउँदा मेरो दाबीमा पुनर्विचार गर्न सक्थें तर अध्यक्षमा डा। भट्टराईको उम्मेदवारी पर्दा मेरो पनि दाबी रहन्छ,’ चापागाईंले भने । सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्ने भनिएको र उन्नत लोकतन्त्रको कुरा गर्ने पार्टी भएकोले समाजमा एउटा सन्देश दिन पनि आफ्नो उम्मेदवारी दाबी रहने उनले बताए ।
पार्टी प्रवक्ता शर्माले लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सुरु भइसकेको सन्दर्भमा आकांक्षीहरूले जुनसुकै पदमा पनि दाबी गर्न सक्ने बताए । ‘निर्वाचन हुन्छ, आकांक्षी सबै साथीहरूले उम्मेदवारी पेस गर्न सक्नुहुन्छ, लोकतान्त्रिक विधिअनुसार नै नयाँ नेतृत्व चयन हुन्छ । यसबीचमा नयाँ पार्टीका नेताहरूसँग भट्टराईले भेटघाट र संवाद सुरु गरिसकेका छन् । महाधिवेशनको उद्घाटन सत्रमा भट्टराईले पार्टीको प्रथम महाधिवेशनले नयाँ शक्तिलाई जोडेर मूल धारमा लैजाने बाटो तय गर्ने बताएका थिए । देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन नयाँ वैकल्पिक राजनीतिक शक्तिहरूबीच ध्रुवीकरण जरूरी रहेको उल्लेख गर्दै उनले भने, ‘महाधिवेशनले नयाँ राजनीतिक शक्तिहरूलाई जोडेर मूल धारमा लैजाने बाटो तय गर्नेछ ।’ नयाँ युगमा नयाँ वैकल्पिक राजनीतिक शक्तिहरूबीच गोलमेच सम्मेलन र विचार विमर्श हुन जरूरी रहेको बताएका भट्टराईले महाधिवेशन उद्घाटन सत्रमा नयाँ पार्टीका नेताहरूलाई मात्र बोलाएका थिए । महाधिवेशनमा प्रस्तुत ३२ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा पनि भट्टराईले नयाँ शक्तिहरूबीच एकता र सहकार्यको प्रस्ताव गरेका छन् ।
२०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछि एकपछि अर्को नयाँ र वैकल्पिक शक्तिहरू आउनुलाई सकारात्मक भनेका छन् । उनले भने, ‘‘त्यसपछिका चरणहरूमा विवेकशील साझा पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायत उदाएका छन् । साथै स्थानीय तहहरूमा विभिन्न स्वतन्त्र व्यक्तिहरू अघि आएका छन् ।’ नयाँ भनेर आएकाहरूमा अझै थुप्रै पाटामा स्पष्ट हुन बाँकी रहेको निष्कर्ष सुनाउँदै उनले भनेका छन्, ‘पुरानो विचार, दल, नेतृत्व, कार्यक्रम, शैलीको विकल्पमा उदाएका सबै शक्ति र व्यक्तित्वको सबै पाटो पक्ष अझै स्पष्ट हुन बाँकी छ । भट्टराईले अगाडि लेखेका छन्, ‘तैपनि पुराना दल र नेतृत्वप्रति आम जनसमुदाय र विशेषतः युवाहरूको चरम निराशा र आक्रोश बढ्दै गइरहेको स्थितिमा नयाँ,वैकल्पिक शक्तिहरूको उदयलाई सकारात्मक रूपमा लिनुपर्छ ।
आइतबारबाट काठमाडौंमा सुरु भएको महाधिवेशन मंगलबारसम्म चल्नेछ । उद्घाटन सत्र सकिएपछि आइतबार नै बन्दसत्रको कार्यक्रम सुरु भएको छ । आइतबार नै प्रथम महाधिवेशनमा आयोजक कमिटी भंग गरेर पाँच सदस्य अध्यक्ष मण्डल चयन गरिएको छ । अध्यक्ष मण्डलमा भक्तबहादुर शाह, दुर्गा सोब, सिर्जना रिजाल, महेन्द्र श्रेष्ठ र चिनक कुर्मी छन् । यो अध्यक्ष मण्डलले महाधिवेशनमा प्रस्तुत दस्तावेजहरुमाथि छलफल गराएर निष्कर्ष निकाल्नेदेखि नयाँ नेतृत्व चयन सम्मको कार्य पूरा गर्नेछ । ७ वटा समूहमा राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमा छलफलपछि आज रिपोर्टिङको एजेन्डा रहेको छ । महाधिवेशनले अध्यक्ष, पाँच उपाध्यक्ष (एक महिला, एक जनजाति, एक मधेशी, एक खसआर्य र एक दलित), महासचिव, तीन सचिव र कोषाध्यक्ष सँगै ९९ सदस्यीय केन्द्रीय कार्य समिति चयन गर्नेछ ।